काठमाडौं । भारतको एयर इन्डियाले आफ्ना बोइङ ड्रिमलाइनर विमानहरूको इन्धन नियन्त्रण स्विचको जाँच सुरु गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार, लामो दूरीको एक उडानका क्रममा एयर इन्डियाको एक ड्रिमलाइनर विमानमा इन्धन आपूर्ति गर्ने स्विचहरूमा समस्या देखिएको थियो ।
यसको जानकारी पाइलटहरूले एयर इन्डियाको प्राविधिक टोलीलाई दिएका थिए । त्यसपछि एयरलाइनका इन्जिनियरहरूले यो मामिला बोइङसमक्ष राखेका छन् र यसलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन् ।
अमेरिकी विमान निर्माता कम्पनी बोइङले फेब्रुअरी २ मा यसको पुष्टि गर्दै यो विषयमा एयर इन्डियालाई सहयोग गरिरहेको बताएको छ ।
एयर इन्डियाका प्रवक्ताले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । एयरलाइनस्ले सोमबार (फेब्रुअरी २) पाइलटहरूले इन्धन नियन्त्रण स्विचहरूमा सम्भावित समस्या देखेपछि एक ड्रिमलाइनर विमानलाई सञ्चालनबाट रोकेको जनाएको छ ।
एयर इन्डियाको अहमदाबादबाट लन्डन जाँदै गरेको एक उडान १२ जुन २०२५ मा टेकअफका केही सेकेन्डमै अहमदाबादमै दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा २६० जनाको मृत्यु भएको थियो । यस दुर्घटनासँग सम्बन्धित रूपमा पनि बारम्बार इन्धन नियन्त्रण स्विचहरूमा समस्या भएको उल्लेख हुँदै आएको छ ।
इन्धन नियन्त्रण स्विचहरूको सहायताले पाइलटहरूले इन्जिनमा हुने इन्धन आपूर्ति रोक्न वा पुनः सुरु गर्न सक्छन् । उडान सम्पन्न भएपछि यी स्विचहरू बन्द गरिन्छन् र अर्को उडानअघि पुनः अन गरिन्छन् ।
उडानका क्रममा कुनै इन्जिनमा आगलागी हुने वा इन्जिन बिग्रिने अवस्थामा पनि यी स्विचहरू अन–अफ गरिन्छन् । तर, यस्तो कार्य पाइलटहरूले जानाजानी मात्र गर्न सक्छन् । भारतीय सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार, हालै लन्डनबाट फर्किएको एक उडानका क्रममा यो नियन्त्रण स्विच आफैँ बन्द हुन थालेको थियो । उक्त घटनाको रिपोर्टपछि नै यो जाँच सुरु गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्