काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वसांसद डा. खिमलाल देवकोटाले आगामी फागुन २१ गते हुने निर्वाचनका नयाँ पुरानै राजनीतिक दलमा बढी उत्साह देखिएको जिकिर गरेका छन् ।
नेपाल कानुन समाजले मंगलबार (माघ २० गते) विज्ञहरूसँग प्रतिनिधि भा निर्वाचनको सम्बन्धमा आयोजना गरेको छलफलमा उनले पुराना दल नै उत्साहित देखिएको बताए । नयाँ राजनीतिक दलहरू भने विभाजित र निराश अवस्थामा देखिएको उनको टिप्पणी थियो ।
“पुराना दलहरू सबै फिल्डमा छन् । उनीहरूको उत्साह मैले नयाँ दलहरूको भन्दा कम देखेको छैन । बरु नयाँ दल विभाजितजस्तो, कोही बिरामीजस्तो, कतै कोलिसन गरौँ–गरौँ भनेर प्रयत्न गरेजस्तो देखिन्छ । जे ढंगले जेनजी मुभमेन्ट भएको थियो, त्यो ढंगले तागत प्राप्त भयो भन्ने थियो । तर, नयाँ दलमा असाध्यै बढी निराशा बढेको देखिइरहेको छ ।”
डा. देवकोटाका अनुसार पुराना दलहरू सबै क्षेत्रमा संगठित रूपमा उपस्थित छन् । उनीहरूको उत्साह नयाँ दलहरूको तुलनामा कम देखिँदैन । जेनजी आन्दोलनबाट नयाँ राजनीतिक शक्तिले ठूलो तागत प्राप्त गर्ने अपेक्षा गरिएको भएपनि व्यवहारमा त्यसको प्रभाव कमजोर देखिएको उनको दाबी छ ।
डा. देवकोटाले पुराना दलसँग बलियो संगठन र सुनिश्चित मतदाता आधार रहेको उल्लेख गर्दै नयाँ दलहरूको संरचनामाथि प्रश्न उठाए ।
साथै, उनले सबै राजनीतिक दल चुनावी मैदानमा होमिइसकेकाले निर्वाचन हुनेमा कुनै आंशका गर्नुपर्ने स्थिति नरहेको बताए । निर्वाचनपछि चुनावमा अपेक्षित मत प्राप्त गर्न नसकेको दलले निर्वाचनमा धाँधली भएको आरोप लगाउने चलन पनि पुरानै रहेको बताए ।– न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्