नवलपरासी । प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिएमा हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गराइने बताएकी छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपपछि प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरूसँगको कुराकानीमा यस्तो बताएकी हुन् । “निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ, विषेश गरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौँ,” उनले भनिन् ।
कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराइने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले हुनै नसक्ने अवस्था आएमा दोस्रो चरणमा निर्वाचन गराउनेतर्फ सोच्न सकिने बताइन् ।
अहिलेसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषयले नै प्रवेश नपाएकाले ढुक्कका साथ आगामी फागुन २१ गतेको निर्वाचनमा जुट्न उनले आग्रह गरिन् । समयमै निर्वाचन सम्पन्न गरेर नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हालेर देश नयाँ दिशातर्फ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री कार्कीले बताइन् ।
“शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन हामीले शतप्रतिशत प्रयास गरेका छौँ, निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ”, उनले भनिन् ।
विशेष परिस्थितमा हुन लागेको निर्वाचन भएकाले केही चुनौती आइपरे पनि समाधान गरेर सरकारले निर्वाचन गराउने प्रधानमन्त्री कार्कीले बताइन् । रासस
प्रतिक्रिया दिनुहोस्