जुम्ला । जुम्लामा भएको सवारी दुर्घटनामा तीन जना निर्वाचन प्रहरीसहित सात जना घाइते भएका छन्। बिहीबार दिउँसो करिब १२ बजे तातोपानी गाउँपालिका–६ धौलापानीस्थित कर्णाली राजमार्गमा जुम्लाबाट नाग्मतर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको इलेक्ट्रोनिक भ्यान (ईभी) दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार अनियन्त्रित भएको भ्यान सडक छेउमा रोकिराखिएको क.प्र.०२–००१ त ०१९० नम्बरको ट्र्याक्टरमा ठोक्किएको थियो। ठक्करपछि भ्यान करिब ४० मिटर तल बारीमा खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा चालकसहित सातै जना सवार घाइते भएका छन्। सबै घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचार भइरहेको छ।
घाइतेमध्ये धर्मेन्द्र रोकाया र मेनुका बुढाको अवस्था गम्भीर रहेको जनाइएको छ।
प्रहरी चौकी हाँकुले घाइतेहरूको उद्धार गरी उपचारका लागि प्रतिष्ठान पठाएको थियो।
घाइते चालक तातोपानी गाउँपालिका–२ बाबिरा निवासी १९ वर्षीय लोकेश खड्काको खुट्टा र आँखामा चोट लागेको छ। तिला गाउँपालिका–१ की ३५ वर्षीया मेनुका बुढाको निधार र ढाडमा गम्भीर चोट लागेको छ।
यस्तै, पातारासी गाउँपालिका–४ लुमकी ३१ वर्षीया माया नेपालीको टाउकोमा भित्री चोट लागेको छ भने अवस्था मध्यम रहेको छ। तातोपानी–३ लिताकोटकी ४८ वर्षीया पुनि सुनारको छातीमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
तिला गाउँपालिका–२ का २० वर्षीय टेकेन्द्र रावत (निर्वाचन प्रहरी) सामान्य घाइते भएका छन्। सोही वडाका २० वर्षीय पारस रावत र हिमा गाउँपालिका–२ का २१ वर्षीय धर्मेन्द्र रोकायाको मुखमा चोट लागेको छ।
डिएसपी रविन बाबु रेग्मीका अनुसार चालकसहित तीन जना निर्वाचन प्रहरीसमेत गरी सात जना घाइते भएका हुन्।
प्रतिक्रिया दिनुहोस्