जुम्ला । विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर पोलबाट खसेका जुम्लाको पातारासी गाउँपालिकाका एक विद्युत् प्राविधिक गम्भीर घाइते भएका छन्। गम्भीर घाइते पातारासी गाउँपालिका–१, गढीगाउँ निवासी ३४ वर्षीय लालबहादुर ऐडीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगन्ज लगिएको छ।
गत बुधबार पातारासी गाउँपालिका–१ स्थित वडा कार्यालय नजिकै स्थानीय विद्युत् लाइन जोड्ने काम गरिरहेका बेला ऐडीलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेपछि उनी विद्युत्को पोलबाट तल खसेका थिए। पोलबाट खस्दा उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बताइएको छ।
घाइते ऐडीको अवस्था गम्भीर रहेको र उनी बोल्नसमेत नसक्ने अवस्थामा रहेको जनाइएको छ। उनको उपचारमा थप सहजता ल्याउन शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
नेपाली सेनाको ‘एनए ०६५’ नम्बरको हेलिकोप्टरले शुक्रबार दिउँसो ३ बजेर ४७ मिनेटमा ऐडीलाई उद्धार गरी साँझ ४ बजेर १७ मिनेटमा नेपालगन्ज पुर्याएको थियो। हाल उनको नेपालगन्जस्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ।
विद्युत् लाइन जोड्ने क्रममा भएको यस दुर्घटनाले विद्युत् प्राविधिकहरूले जोखिमपूर्ण काम गर्दा अपनाउनुपर्ने सुरक्षा सतर्कताको विषयलाई समेत पुनः उजागर गरेको छ।
प्रतिक्रिया दिनुहोस्