मुगु । मुगुको छायानाथ रारा नगरपालिका–१२ स्थित सुनाता खोला नजिकै गुडिरहेको बोलेरो जिप अचानक खसेको पहिरोमा पुरिएको छ। बिहीबार बिहान करिब १०ः३० बजे माथिबाट एक्कासि खसेको पहिरोले गमगढीतर्फ फर्किँदै गरेको जिपलाई पुरेको हो।
गमगढीबाट सुनातातर्फ गएर फर्किने क्रममा रहेको लु.प्र.००१०१ च १२११ नम्बरको बोलेरो जिप सुनाता खोला नजिकै पहिरोमा परेको प्रहरीले जनाएको छ। जिप विशाल खत्रीले चलाइरहेका थिए।
प्रत्यक्ष रूपमा जिप पहिरोमा पुरिए पनि त्यसबेला जिपमा कुनै यात्रु वा अन्य व्यक्ति सवार नभएकाले ठूलो मानवीय दुर्घटना हुनबाट जोगिएको छ। प्रहरीले समयमै सतर्कता अपनाएका कारण मानवीय क्षति नभएको जनाएको छ।
घटनाको खबर पाएलगत्तै मुगुको अस्थायी प्रहरी पोस्ट रोवाबाट प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। प्रहरी टोली दिउँसो १ः२० बजे घटनास्थलमा पुगेर अवस्था बुझ्नुका साथै सुरक्षा तथा उद्धारको काम अघि बढाएको थियो।
पहिरोले जिप पूर्ण रूपमा पुरिएपछि त्यसलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल अस्थायी प्रहरी पोस्ट रोवाबाट करिब दुई घण्टा दक्षिणतर्फ पर्छ।
पहिरो खसेको क्षेत्रमा सडक आवागमनसमेत प्रभावित हुन सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्