जुम्ला । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा जुम्लाको प्रतिनिधित्व गराउने उत्कृष्ट खेलाडी छनोटका लागि जिल्ला स्तरीय प्रतियोगिता सुरु भएको छ। मंगलबारदेखि जुम्लामा विभिन्न खेल विधाका महिला तथा पुरुष खेलाडी छनोट गर्न प्रतियोगिता सञ्चालन गरिएको हो।
छनोट प्रतियोगिताको कर्णाली प्रदेश सभाका उपसभामुख यशोदा न्यौपानेले उद्घाटन गरेकी हुन्।
आगामी मङ्सिर १६ देखि २७ गतेसम्म प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्लाबाट प्रतिभाशाली र उत्कृष्ट खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समिति जुम्लाका कार्यालय प्रमुख कविदत्त न्यौपानेले बताए।
उनका अनुसार छनोट प्रतियोगितामार्फत एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, बुद्धिचाल, तेक्वान्दो, आईटीएफ तेक्वान्दो, उसु, बास्केटबल, फुटबल, कबड्डी, भलिबल र ह्यान्डबल लगायतका खेल विधामा महिला तथा पुरुष खेलाडी छनोट गरिनेछ।
‘जुम्लाले खेल क्षेत्रमा आफ्नो सामर्थ्य देखाउन सक्छ’
उद्घाटन कार्यक्रममा उपसभामुख यशोदा न्यौपानेले जुम्ला कृषि, पर्यटन र खस भाषाको उद्गमस्थलका रूपमा मात्र नभई खेलकुदको उर्वर भूमि पनि भएको बताइन्।
विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायादेखि सुनमाया बुढा, विश्वरूपा बुढा र राममाया बुढाजस्ता प्रतिभाशाली धावक जन्माएको जुम्लामा खेलकुदको ठूलो सम्भावना रहेको उनको भनाइ थियो।
“जुम्लाले खेल क्षेत्रमा देशकै लागि महत्वपूर्ण प्रतिभा उत्पादन गर्न सक्छ,” उनले भनिन्, “दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा जुम्लाले आफ्नो क्षमता र सामर्थ्य देखाउने विश्वास छ।”
उनले छनोट प्रक्रियामा कुनै पनि प्रकारको पूर्वाग्रह नराखी उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अवसर दिन आग्रह गरिन्।
निष्पक्ष छनोटमा जोड
कर्णाली प्रदेश खेल विकास परिषद्का बोर्ड सदस्य पंखबहादुर शाहीले कुनै पनि विधाका प्रतिभावान् खेलाडी अवसरबाट वञ्चित नहुने गरी छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउनुपर्नेमा जोड दिए।
“खेल क्षेत्रमा लगानी गर्नु भनेको स्वास्थ्य क्षेत्रमा लगानी गर्नु हो,” उनले भने, “जुम्लाबाट छनोट भएर जाने खेलाडीले सुर्खेतमा उत्कृष्ट प्रदर्शन गर्ने हाम्रो विश्वास छ।”
उनले जुम्लाको खेलकुद क्षेत्रमा हरिबहादुर रोकायाले बनाएको पहिचानलाई थप उचाइमा पुर्याउन नयाँ पुस्ताका खेलाडीले मेहनत र अनुशासनलाई प्राथमिकता दिनुपर्ने बताए।
छनोट प्रतियोगिताले नयाँ पुस्तालाई खेल क्षेत्रमा आकर्षित गर्नुका साथै आफ्नो प्रतिभा पहिचान गर्ने अवसर प्रदान गर्ने भएकाले छनोट प्रक्रिया पारदर्शी हुनुपर्ने उनको भनाइ थियो।
‘जुम्लासँग प्रतिभाको कमी छैन’
जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकालीले जुम्लामा भाषा, साहित्यसँगै खेल क्षेत्रमा पनि देशलाई योगदान दिन सक्ने प्रतिभाको कमी नरहेको बताए।
खेल क्षेत्रको विकास र प्रवर्द्धनका लागि तीनै तहका सरकारबाट अपेक्षाकृत सहयोग हुन नसक्दा खेलकुदले अपेक्षित गति लिन नसकेको उनको भनाइ थियो।
स्थानीय स्तरमा खेलाडी उत्पादनदेखि उनीहरूको क्षमता विकास र आवश्यक पूर्वाधार निर्माणमा राज्यले थप लगानी गर्नुपर्ने उनले बताए।
प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले खेलाडीले आफ्नो प्रतिभा, अनुशासन र मेहनतमार्फत जिल्ला, प्रदेश हुँदै देशको नाम अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सक्ने बताए।
“खेल क्षेत्रको महत्व खेलाडीले जति अरूले बुझ्न सक्दैनन्,” उनले भने, “जुम्लाबाट हरेक खेल विधामा उत्कृष्ट, योग्य र दक्ष खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगितामा पठाउनुपर्छ।”
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै आयोजना हुन लागेकाले जुम्लाका खेलाडीका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा छनोट प्रतियोगितालाई हेरिएको छ। छनोटबाट प्रदेशस्तरीय प्रतियोगिताका लागि स्थान बनाउने लक्ष्यसहित खेलाडीहरू प्रतिस्पर्धामा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस्