जुम्ला । ग्रामीण भेगका आर्थिक तथा सामाजिक रूपमा विपन्न विद्यार्थीलाई न्यानो कपडाको सहयोग गर्दै सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ। बैंकको जुम्ला शाखाले पातारासी गाउँपालिका–७ रिनीस्थित सरस्वती माध्यमिक विद्यालयका तीन सय विद्यार्थीलाई स्विटर वितरण गरेको हो।
शनिबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विद्यार्थीलाई स्विटर प्रदान गरेको हो। चिसो मौसममा विद्यार्थीलाई न्यानो कपडाको अभाव हुन नदिन तथा उनीहरूको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले स्विटर वितरण गरिएको बैंकले जनाएको छ।
सिटिजन्स बैंक जुम्ला शाखाका प्रबन्धक केसाङ लामाका अनुसार ग्रामीण क्षेत्रका आर्थिक तथा सामाजिक रूपमा विपन्न पृष्ठभूमिका विद्यार्थीलाई लक्षित गरी उक्त सहयोग गरिएको हो। बैंकले नाफामुखी व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको उहाँले बताउनुभयो।
बैंकका सहायक प्रबन्धक भुपेन्द्र प्याकुरेलले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकको आवश्यकता पहिचान गरी सहयोगका कार्यक्रमलाई निरन्तरता दिने बैंकको योजना रहेको उहाँको भनाइ छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाछिराम खड्काले सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा बैंकले गर्दै आएको सहयोग सकारात्मक रहेको बताउनुभयो। विद्यालयमै पुगेर विद्यार्थीलाई स्विटर वितरण गर्नु प्रशंसनीय कार्य भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने अपेक्षा व्यक्त गर्नुभयो।
पातारासी गाउँपालिका–७ का वडाध्यक्ष वीरबहादुर बुढाले ग्रामीण क्षेत्रका विद्यार्थीलाई लक्षित गरी विद्यालयमै आएर स्विटर वितरण गर्नु बैंकको नमुना कार्य भएको बताउनुभयो। यस्ता कार्यक्रमले विद्यार्थीलाई राहत दिनुका साथै सामाजिक संस्थाप्रति समुदायको विश्वाससमेत बढाउने उहाँको भनाइ छ।
त्यस्तै, गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाले शिक्षा, स्वास्थ्य, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। दुर्गम क्षेत्रका विद्यार्थीको आवश्यकता पहिचान गरी सहयोगका कार्यक्रम अघि बढाउन सके स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन सक्ने उहाँले बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक भीमबहादुर विकले विद्यार्थीलाई स्विटर वितरण गरेर सहयोग गरेकोमा सिटिजन्स बैंकप्रति आभार व्यक्त गर्नुभयो। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि यस्तो सहयोग उपयोगी हुने उहाँको भनाइ छ।
कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र रेग्मी, बैंकका कर्मचारी विजय आचार्य, दिलक बुद्थापा, सरिता रावल र षडानन्द प्याकुरेलसहित विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो।
दुर्गम भेगका विद्यार्थीलाई लक्षित गरी गरिएको यस सहयोगले विद्यालय र समुदायबीच सहकार्यको महत्त्व उजागर गरेको छ। शिक्षा क्षेत्रमा पहुँच विस्तारसँगै विद्यार्थीको आधारभूत आवश्यकता सम्बोधन गर्न निजी क्षेत्रबाट गरिने यस्ता सामाजिक पहलले सकारात्मक भूमिका खेल्नसक्ने देखिन्छ।


प्रतिक्रिया दिनुहोस्