कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सुरु, अब रगतका लागि बाहिर निर्भर हुनुपर्ने बाध्यता घट्ने



जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक रक्तसञ्चार सेवा (ब्लड ट्रान्सफ्युजन सर्भिस/ब्लड बैंक) सञ्चालनमा आएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो सेवा सञ्चालनमा आएसँगै आकस्मिक तथा जटिल उपचारका क्रममा आवश्यक पर्ने रगत व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको छ।

America Nepal Medical Foundation (ANMF) र प्रतिष्ठानबीचको सहकार्य तथा ANMF को महत्वपूर्ण सहयोगमा रक्तसञ्चार सेवा स्थापना गरी सञ्चालनमा ल्याइएको हो। यसअघि बिरामी तथा आफन्तले आवश्यक समयमा रगतको व्यवस्था गर्न विभिन्न कठिनाइ झेल्दै आएका थिए। कतिपय अवस्थामा रगतका लागि बाहिरी स्थानमा निर्भर हुनुपर्ने बाध्यतासमेत रहँदै आएको थियो।

नयाँ सेवा सञ्चालनमा आएपछि विशेषगरी आकस्मिक अवस्था, शल्यक्रिया, प्रसूति सेवा, चोटपटक तथा अन्य जटिल उपचारका क्रममा आवश्यक पर्ने रगत समयमै उपलब्ध गराउन सहज हुने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका निर्देशक डा. विनम्र बिष्टले रक्तसञ्चार सेवा सञ्चालनलाई कर्णालीका नागरिकलाई आफ्नै ठाउँमा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयासको महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने बताए।

उनका अनुसार KAHS को नयाँ कार्यकारी नेतृत्वले जनतालाई उपलब्ध गराउन सकिने गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न आवश्यक सेवाहरू क्रमशः थप गर्दै लैजाने प्रयास गरिरहेको छ। स्वास्थ्य सेवा उपचारमा मात्र सीमित नराखी जनताको वास्तविक आवश्यकता पहिचान गरी अत्यावश्यक सेवाको विस्तार र सुदृढीकरणलाई प्राथमिकतामा राखिएको उनले बताए।

“आज सुरु भएको रक्तसञ्चार सेवा एउटा सुरुवात मात्र हो,” निर्देशक बिष्टले भने, “आगामी दिनमा कर्णालीका नागरिकले आफ्नै ठाउँमा सहज, सुरक्षित, गुणस्तरीय र आवश्यकताअनुसार थप स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ निरन्तर काम गर्नेछौँ।”

उनले प्रतिष्ठानको सेवा विस्तारको केन्द्रमा बिरामी, सेवाग्राही र कर्णालीका नागरिक रहेको बताए। उपलब्ध स्रोत–साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै KAHS लाई अझ सक्षम, सेवामुखी र जनउत्तरदायी स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने प्रयास जारी रहने उनको भनाइ छ।

रक्तसञ्चार सेवा सञ्चालनले दुर्गम हिमाली क्षेत्रका नागरिकलाई उपचारका क्रममा आवश्यक पर्ने रगतको व्यवस्थापनमा महत्वपूर्ण राहत पुग्ने विश्वास गरिएको छ। विशेषगरी प्रसूति, दुर्घटना, शल्यक्रिया तथा आकस्मिक उपचारमा रगतको आवश्यकता पर्ने अवस्थामा यस सेवाले उपचारलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस सेवा स्थापना तथा सञ्चालनमा सहयोग पुर्‍याएकोमा ANMF, KAHS का चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान गर्ने सबैप्रति प्रतिष्ठानले आभार व्यक्त गरेको छ।

रक्तसञ्चार सेवा सञ्चालनसँगै कर्णालीका नागरिकका लागि ‘रगत खोज्न बाहिर धाउनुपर्ने’ अवस्थालाई क्रमशः अन्त्य गर्ने दिशामा KAHS ले एउटा महत्वपूर्ण कदमअघि बढाएको छ।

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रबार
अरु पनि पढ्नुहोस्