जुम्लामा उद्योग खुल्नेभन्दा बन्द हुने क्रम बढ्दो, एक वर्षमै १८० उद्योग खारेज



जुम्ला । जुम्लामा नयाँ उद्योग स्थापना गर्ने क्रम सुस्ताउँदै जाँदा सञ्चालनमा रहेका उद्योग खारेज हुने क्रम भने बढ्दै गएको छ। आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा १८० वटा उद्योग खारेज भएका छन्। सोही अवधिमा १८८ वटा नयाँ उद्योग दर्ता भएका छन्।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख टंकप्रसाद न्यौपानेका अनुसार उक्त आर्थिक वर्षमा उद्योगतर्फ दर्ता १८८, नवीकरण ३३४, खारेजी १८०, विवरण संशोधन ८५, प्रतिलिपि १४२ र स्थानान्तरण चारवटा भएका छन्।

वाणिज्यतर्फ पनि उद्योग सञ्चालन तथा निरन्तरताको अवस्था उत्साहजनक देखिँदैन। आर्थिक वर्ष २०८२/८३ मा ६१ वटा वाणिज्यसम्बन्धी फर्म दर्ता हुँदा ५८ वटा नवीकरण र ५२ वटा खारेज भएका छन्। कार्यालयले सो अवधिमा विभिन्न शीर्षकमा सेवा प्रदान गरेबापत करिब १६ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

चालु आर्थिक वर्षमा पनि खारेजी रोकिएन

चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म जुम्लामा ४३ वटा नयाँ उद्योग दर्ता भएका छन्। यस अवधिमा ११९ वटा उद्योग नवीकरण हुँदा पाँचवटा उद्योग खारेज भएका छन्। वाणिज्यतर्फ ११ वटा नयाँ फर्म दर्ता भएका छन् भने दुईवटा साझेदारी उद्योगसमेत दर्ता भएको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिनुभयो।

कार्यालयको तथ्यांकले जुम्लामा उद्योग स्थापना गर्नेभन्दा भएका उद्योगको निरन्तरतामै चुनौती देखिन थालेको संकेत गर्छ। पछिल्ला चार वर्षयता उद्योग दर्ताको संख्या क्रमशः घट्दै जाँदा खारेजीको संख्या भने बढ्दै गएको कार्यालयको भनाइ छ।

स्थानीय बजारको सीमितता, लगानीको जोखिम, उत्पादनको बजार व्यवस्थापन, पूर्वाधार तथा जनशक्तिको समस्या लगायतका कारण उद्योग सञ्चालनमा कठिनाइ भइरहेको व्यवसायीहरूले बताउँदै आएका छन्। नयाँ उद्योग दर्ता भए पनि त्यसलाई दीर्घकालीन रूपमा सञ्चालनमा राख्न नसक्दा खारेजीतर्फ जाने अवस्था देखिएको छ।

जुम्लामा दर्ता भएका उद्योगहरूमा उत्पादनमूलक, कृषि तथा वनजन्य, सेवामूलक, पर्यटन, निर्माण तथा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका उद्योगहरू रहेका छन्।

उद्योग दर्ताको तथ्यांकले जुम्लामा उद्यमशीलताको सम्भावना अझै रहेको देखाए पनि उद्योगको दर्तादेखि सञ्चालन, उत्पादन, बजार र दीर्घकालीन निरन्तरतासम्मको चक्र बलियो बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।

 

 

 

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिबार
अरु पनि पढ्नुहोस्