प्रतिष्ठान सुधारको प्रतिबद्धता : नवनियुक्त पदाधिकारीलाई पत्रकार महासंघको बधाई



जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व सम्हाल्न आएका नवनियुक्त उपकुलपति प्रा. डा. सूर्यमान मेन्याङ्बो र रजिस्ट्रार प्रकाशचन्द्र खत्रीलाई नेपाल पत्रकार महासंघ शाखा जुम्लाले बधाई तथा शुभकामना व्यक्त गरेको छ। महासंघले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा प्रतिष्ठानको वर्तमान अवस्था, सेवा प्रवाह, व्यवस्थापकीय चुनौती र आगामी कार्यदिशाबारे खुलेर छलफलसमेत भएको छ।

सोही अवसरमा पत्रकारितामा विद्यावारिधि (पीएचडी) हासिल गरेका पत्रकार लक्ष्मीप्रसाद देवकोटा (एलपी) लाई पनि महासंघले बधाई तथा सम्मान गरेको छ।

कार्यक्रममा बोल्दै नवनियुक्त रजिस्ट्रार प्रकाशचन्द्र खत्रीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिरबाट हेर्दा व्यवस्थित र आकर्षक देखिए पनि भित्रभित्रै व्यवस्थापन तथा सेवा प्रणालीका धेरै पक्षमा सुधारको आवश्यकता रहेको बताएका छन्।

उनले प्रतिष्ठानमा आउनुअघि आफूले कल्पना गरेको अवस्थाभन्दा वास्तविक अवस्था फरक र चुनौतीपूर्ण पाएको उल्लेख गरे।

“बाहिरबाट हेर्दा प्रतिष्ठान जति सुन्दर र व्यवस्थित देखिन्छ, भित्र त्यति नै राम्रो रहेनछ। धेरै कुराको व्यवस्थापन गर्न बाँकी रहेको पाएँ,” खत्रीले भने, “बाहिरबाट आउनुअघि मैले जे सोचेको थिएँ, यहाँ आएपछि अवस्था त्यसभन्दा फरक र चुनौतीपूर्ण पाएँ।”

तर विगतका कमजोरीलाई देखाएर बस्नेभन्दा त्यसलाई सुधारको आधार बनाएर अघि बढ्नु आवश्यक रहेको उनको भनाइ थियो। उनले आफूहरू जिम्मेवारीमा आइसकेपछि प्रतिष्ठानका समस्या समाधान गर्ने र समग्र प्रणालीलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे।

“अब हामी आयौँ भनेर मात्र हुँदैन। भएका कमजोरी पहिचान गरेर सुधार गर्दै प्रतिष्ठानको प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्छ,” उनले भने।

रजिस्ट्रार खत्रीले प्रतिष्ठानबाट प्रवाह हुने स्वास्थ्य सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउने, सेवाको गुणस्तरमा विशेष ध्यान दिने र आवश्यकताअनुसार संघीय तथा स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नेपालका आठवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये अब्बल र उत्कृष्ट संस्थाका रूपमा स्थापित गर्नु आफूहरूको प्रमुख चुनौती रहेको उनले बताए। त्यसका लागि नयाँ नेतृत्व योजनाबद्ध ढंगले अघि बढिरहेको उनको भनाइ थियो।

“यो प्रतिष्ठानलाई अब्बल र उत्कृष्ट बनाउनु हाम्रो प्रमुख चुनौती हो। त्यसका लागि हाम्रो टिम योजनाबद्ध रूपमा अघि बढिरहेको छ,” खत्रीले भने, “आगामी दिनमा पत्रकारहरूसँग पनि अझ घनिष्ठ समन्वय र सहकार्य गरेर अघि बढ्नेछौँ।”

कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईंले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीवासीको महत्वपूर्ण सम्पत्तिका रूपमा स्थापित भइसकेको बताए। प्रतिष्ठानको संरक्षण, सुधार र विकासमा नेतृत्व मात्रै नभई सरोकारवाला सबै पक्षको साझा भूमिका आवश्यक रहेको उनको भनाइ थियो।

अध्यक्ष चौलागाईंले प्रतिष्ठानको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै नागरिकको विश्वास अझ बलियो बनाउन सञ्चार क्षेत्र र प्रतिष्ठानबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रमले नवनियुक्त पदाधिकारीलाई बधाई दिने औपचारिक अवसरसँगै प्रतिष्ठानका चुनौती, सुधारका सम्भावना र आगामी यात्राबारे खुला संवादको वातावरणसमेत निर्माण गरेको सहभागीहरूको भनाइ थियो।

 

 

 

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार
अरु पनि पढ्नुहोस्