जुम्ला गएराति तातोपानी गाउँपालिका–८ को बुन्तडी गाउँमा भएको आगलागीबाट स्थानीय डिल्ली शाहीको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगोले घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न तथा दैनिक प्रयोगका सामग्रीसमेत खरानी बनाएको बताइएको छ। आगलागीको कारण खुल्न बाँकी रहे पनि क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको स्थानीयले जनाएका छन्।
घटनापछि पीडित परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले नेपाली काँग्रेस जुम्लाले आवश्यक सामग्री उपलब्ध गराएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार दीप बहादुर शाहीको पहलमा राहत संकलन गरी वितरण गरिएको जनाइएको छ।
प्रदान गरिएको राहतमा २/२ थान सिरक, डसना, सिरानी र तन्ना, २ वटा कुकर, ५/५ वटा थाल, गिलास र कचौरा, २५ केजी चामल, १० केजी दाल, मसला–बेसार तथा ५ केजी चिनी समावेश छन्।
राहत हस्तान्तरणका क्रममा तातोपानी गाउँपालिका सभापति धनप्रसाद चौलागाईं र क्षेत्र नं. १ का सचिव तीर्थ न्यौपानेसहितको टोली घटनास्थल पुगेर सामग्री प्रदान गरेको थियो। टोलीले पीडित परिवारसँग भेटघाट गर्दै आवश्यक साथ र सहयोगको प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।
विपद्को घडीमा पीडितसँग ऐक्यबद्धता जनाउँदै नेपाली काँग्रेस जुम्लाले थप सहयोगका लागि अन्य संघ–संस्था तथा व्यक्तिहरूलाई पनि हातेमालो गर्न आग्रह गरेको छ। प्रभावित परिवारलाई अझै सहयोग आवश्यक देखिएकाले सम्बन्धित निकायसँग समन्वय गरेर थप सहयोग जुटाइने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्