सुर्खेत– गगनकुमार थापाले आगामी पाँच वर्षलाई देशको ‘स्वर्णिम अवधि’ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाली कांग्रेस कर्णाली प्रदेशस्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई विजयी गराई मुलुकलाई ऐतिहासिक उपलब्धितर्फ लैजान आह्वान गरे।
थापाले विगत पाँच–छ वर्ष सरकार गठन र विघटनमै सीमित भएको उल्लेख गर्दै त्यसले युवामा निराशा बढाएको बताए। गठबन्धनको राजनीतिले अपेक्षित गति दिन नसकेको उनको भनाइ थियो। उनले ०८२ देखि ०८७ सम्मको कार्यकाललाई परिणाममुखी बनाउने योजना कांग्रेसले अघि सारेको र प्रतिज्ञापत्रमार्फत स्पष्ट मार्गचित्र सार्वजनिक गरिसकेको बताए। “हामी पाँच वर्ष पर्खेर बस्दैनौँ, हरेक महिना प्रगतिको विवरण दिन्छौँ,” उनले भने।
उनले विकासका लागि सबै दलसँग सहकार्य गर्न कांग्रेस तयार रहेको तर अरू दलबाट चासो नदेखिएको टिप्पणी गरे। एमाले, माओवादी, रास्वपालगायत दललाई एउटै मञ्चमा बसेर कर्णालीका लागि साझा योजना बनाउन आह्वान गरे पनि सकारात्मक प्रतिक्रिया नआएको उनको दाबी थियो। विगतका घटनालाई स्मरण गर्दै उनले जनतालाई भ्रममा नपर्न आग्रह गरे।
थापाले शान्ति र स्थिरता अपरिहार्य रहेको बताउँदै राज्यको गोलीबाट निहत्था नागरिकको ज्यान जान नहुने र अराजक गतिविधि दोहोरिन नहुने धारणा राखे। आन्दोलनको जिम्मेवारी लिने तर विध्वंस अस्वीकार गर्ने दोहोरो प्रवृत्तिले मुलुकलाई फेरि दुर्घटनामा पुर्याउन सक्ने चेतावनी दिए।
विदेशमा रहेका नेपालीलाई सम्बोधन गर्दै उनले २०४६ सालपछि भएका सबै काण्डको निष्पक्ष छानबिन हुने बताए। “मेरो परिवारकै कोही दोषी ठहरिए पनि उन्मुक्ति पाउँदैन,” उनले भने। आगामी पाँच वर्षलाई परीक्षणको अवधि नभई परिणाम दिने समयका रूपमा लिन आग्रह गर्दै उनले मतदातालाई कांग्रेसलाई अवसर दिन अपिल गरे।
कर्णालीको आर्थिक अवस्था र विकास असमानताबारे चर्चा गर्दै उनले प्रदेशको वार्षिक आम्दानी सीमित रहेको तर काठमाडौँ महानगरको बजेट अर्बौंमा रहेको तुलना गरे। कर संकलन र खर्च प्रणाली संविधान तथा कानुन संशोधनमार्फत सुधार्नुपर्ने आवश्यकता औँल्याए। पहाडी तथा हिमाली जिल्लामा खर्च प्रक्रिया लचिलो नहुँदा बजेट ‘फ्रिज’ हुने समस्या रहेको उनले बताए।
सूचना प्रविधि र शिक्षामा कर्णाली पछि परेको उल्लेख गर्दै उनले मातृस्वास्थ्य, पोषण र आधारभूत शिक्षामा लगानी बढाउनुपर्ने धारणा राखे। प्रतिस्पर्धी बन्न बालबालिकाको प्रारम्भिक विकासमै ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो।
थापाले यथास्थितिवाद र अतिवाद दुवैले देश नबनाउने दाबी गर्दै कांग्रेसलाई सुधारिएको र जिम्मेवार शक्तिका रूपमा प्रस्तुत गरे। “हामी आफ्ना कमजोरी सच्याउँदै देश परिवर्तनका लागि आएका छौँ,” उनले भने, “पाँच वर्षभित्र देशलाई दुर्घटनातर्फ जान दिँदैनौँ।”
कार्यक्रममा नेकपाका धनलाल गुरुङ, भोजराज मल्ल, बलराम रावल र नारायण बस्नेतसहित ८० जना कांग्रेसमा प्रवेश गरेका थिए। उनीहरूलाई थापाले पार्टीमा स्वागत गरेका थिए।
प्रतिक्रिया दिनुहोस्