जुम्लामा ९२५ अस्थायी मतदाता, दुई अस्थायी मतदान केन्द्र निर्धारण



जुम्ला। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला जुम्लामा ९२५ जना अस्थायी मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कंडेलका अनुसार जिल्लामा दुई स्थानमा अस्थायी मतदान केन्द्र तोकिएको छ।

सरकारी कर्मचारी, सुरक्षा निकायका सदस्य तथा जिल्ला कारागारमा रहेका कैदीबन्दी गरी ९२५ जनाले अस्थायी मतदाता सूचीमार्फत प्रतिनिधिसभाको समानुपातिक तर्फ मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ। मतदान केन्द्रमा खटिएका कर्मचारीले आफू खटिएको स्थानबाटै मतदान गर्न सक्नेछन्।

अन्य अस्थायी मतदाताका लागि सदरमुकाम खलङ्गास्थित खाद्य तथा व्यापार कम्पनीको शाखा कार्यालय परिसर र जिल्ला कारागार कार्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको निर्वाचन अधिकारी कंडेलले जानकारी दिए।

जिल्लामा कुल ७१ हजार ७३९ जना मतदाता रहेका छन्, जसमा पुरुष र महिला दुवै समावेश छन्। निर्वाचन सम्पन्न गराउन ६५४ जना कर्मचारी परिचालन गरिएका छन् भने जिल्लाभर ८५ मतदान स्थल अन्तर्गत ११० मतदान केन्द्र कायम गरिएको छ।

जुम्लामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ। उक्त क्षेत्रमा नौ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार गरी १० जना प्रतिस्पर्धामा उत्रिएका छन्।

 

प्रकाशित मिति : २०८२ फागुन १८ गते सोमबार
अरु पनि पढ्नुहोस्