मौन अवधिदेखि मतदान सम्पन्न नहुँदासम्म कडा अनुगमन गर्न आयोगको निर्देशन



काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिएको छ। मौन अवधि सुरु भएसँगै मतदान केन्द्र बन्द नहुन्जेलसम्म विशेष आचरण प्रभावकारी रूपमा लागू गर्न देशभर सूक्ष्म निगरानी बढाउन आयोगले सम्बन्धित अधिकृतहरूलाई भनेको हो।

आयोगका अनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी तथा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी तोकिएको छ। उनीहरूलाई आचारसंहिता पूर्ण रूपमा पालना भए/नभएको नियमित रूपमा अनुगमन गर्न निर्देशन दिइएको छ।

निर्वाचन आचारसंहिता, २०८२को दफा १७ अनुसार मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान सम्पन्न नहुन्जेलसम्म विशेष आचरण लागू हुने व्यवस्था छ। यस अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार, मतदातालाई प्रभाव पार्ने गतिविधि तथा निषेधित कार्य गर्न पाइँदैन भन्ने प्रावधान रहेको आयोगले पुनः स्मरण गराएको छ।

त्यसैगरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीत कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने आयोगले स्पष्ट पारेको छ। जिल्ला आचारसंहिता अनुगमन समितिसँग समन्वय गर्दै उल्लङ्घनका घटनामा कडाइका साथ कदम चाल्न निर्देशन दिइएको छ।

प्रचारप्रसार निषेध अवधिमा प्रचलित कानुन र आचारसंहिताले रोक लगाएका गतिविधि नगर्न तथा नगराउन आयोगले सबै सरोकारवालासँग आग्रह गरेको छ।

 

प्रकाशित मिति : २०८२ फागुन १९ गते मंगलबार
अरु पनि पढ्नुहोस्