जुम्लामा ६ उम्मेदवारको जमानत जफत



जुम्ला । प्रतिनिधि सभा सदस्य निर्वाचनमा जुम्लाबाट प्रतिस्पर्धा गरेका ६ जना उम्मेदवारको जमानत जफत भएको छ। जुम्लामा प्रतिनिधि सभा तर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको छ, जहाँ एक स्वतन्त्रसहित १० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। तर तीमध्ये ६ जनाले गणना भएको सदर मतको १० प्रतिशत मतसमेत ल्याउन नसकेपछि उनीहरूको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ।

जिल्लामा रहेका ७१ हजार ७३९ मतदातामध्ये ४० हजार ८७८ मत खसेको थियो। खसेका मतमध्ये १ हजार ७०५ मत बदर भएको र बाँकी ३९ हजार १७३ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ। सदर मतको १० प्रतिशत अर्थात् ३ हजार ९१७ मत ल्याउन नसक्ने ६ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र कँडेलले जानकारी दिए।
जमानत जफत हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार विनिता कठायत पनि परेकी छन्। देशभर राम्रो चर्चा पाएको रास्वपाबाट उम्मेदवार बनेकी कठायतले जुम्लामा जम्मा ४२१ मत मात्रै प्राप्त गरिन्।

त्यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल (११२), नेमकिपाका विर्षबहादुर रावत (४००), नेकपा (माओवादी) का विर्ख शाही (७१), नेजपाका रनील विक्रम शाही (४३) र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावल (१४) मत प्राप्त गर्दा उनीहरूको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ।

यसैबीच, जुम्लामा सांसद नदोहोरिने इतिहास तोड्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही दोस्रोपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार नरेश भण्डारीलाई ३ हजार २४१ मतान्तरले पराजित गरेका हुन्। विजयी शाहीले १४ हजार ८१६ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : २०८२ फागुन २४ गते आइतबार
अरु पनि पढ्नुहोस्