जुम्ला – बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव देखिए पनि कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ भने पार्टीले सीमित सफलता पाएको छ। कर्णालीका १२ वटा निर्वाचन क्षेत्रमध्ये रास्वपाले सुर्खेत–२ बाट मात्र विजय हासिल गरेको छ। उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार रमेश कुमार सापकोटा निर्वाचित भएका हुन्।
कर्णालीका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाए पनि सुर्खेत–२ बाहेक अन्य क्षेत्रमा भने रास्वपा पराजित भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार कर्णालीका १० जिल्लामा रहेका १२ निर्वाचन क्षेत्रमध्ये पाँच स्थान जित्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ। कांग्रेसबाट जाजरकोटमा खड्क बहादुर बुढा, हुम्लामा जयपति रोकाया, दैलेख–१ मा वासना थापा, मुगुमा खड्क शाही र सुर्खेत–१ मा विष्णुबहादुर खड्का निर्वाचित भएका छन्।
त्यस्तै नेकपा (माओवादी केन्द्र) बाट रुकुम पश्चिममा गोपाल शर्मा, सल्यानमा रमेश कुमार मल्ल, डोल्पामा धन बहादुर बुढा र कालिकोटमा महेन्द्र बहादुर शाही विजयी भएका छन्।
यसैगरी जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी का ज्ञान बहादुर शाही, दैलेख–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का लक्ष्मी प्रसाद पोखरेल तथा सुर्खेत–२ बाट रास्वपाका रमेश कुमार सापकोटा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
यस परिणामसँगै कर्णालीमा कांग्रेसले ५, माओवादी केन्द्रले ४, रास्वपा, एमाले र राप्रपाले एक–एक सिट जितेका छन्।
समानुपातिकतर्फ रास्वपा अग्रस्थानमा
प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेसँगै समानुपातिकतर्फको मतगणना पनि तीव्र गतिमा भइरहेको छ। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार कर्णाली प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ अग्रस्थानमा देखिएको छ।
हालसम्मको गणनाअनुसार रास्वपाले कर्णालीमा ५० हजार ६५५ मत प्राप्त गरेको छ। त्यस्तै एमाले ३९ हजार २०० मतसहित दोस्रो स्थानमा रहेको छ।
प्रत्यक्षतर्फ अपेक्षाकृत राम्रो प्रदर्शन गरेको कांग्रेसले समानुपातिकमा करिब ३८ हजार मत पाएको छ भने कर्णालीमा चार सिट जितेको माओवादी केन्द्रले करिब २६ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको
प्रतिक्रिया दिनुहोस्