जुम्ला । कर्णाली प्रदेशका नागरिकका लागि उपचारको प्रमुख केन्द्र मानिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अत्यावश्यक एक्स–रे सेवा बन्द भएपछि बिरामीहरू समस्यामा परेका छन्। अस्पतालको मुख्य एक्स–रे मेसिन बिग्रिएपछि लामो समयसम्म मर्मत हुन नसक्दा टाढा–टाढाबाट उपचारका लागि आएका बिरामी अलपत्र परेका हुन्।
अस्पतालमा दैनिक सयौँ बिरामी उपचारका लागि आउने गर्दछन्। कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, जाजरकोट, दैलेख लगायतका दुर्गम जिल्लाबाट आउने बिरामीहरूको मुख्य भरोसा यही अस्पताल हो। तर अहिले एक्स–रे जस्तो आधारभूत सेवा नै बन्द भएपछि उपचार प्रक्रिया प्रभावित भएको छ।
सामान्य चोटपटक, दुर्घटना, हाडजोर्नी समस्या तथा छाती–फोक्सो सम्बन्धी रोगको उपचार अघि एक्स–रे जाँच अनिवार्य मानिन्छ। तर अस्पतालमा मेसिन बिग्रिएपछि चिकित्सकहरूले बिरामीलाई निजी क्लिनिक वा अन्य अस्पतालमा पठाउनुपर्ने बाध्यता भएको छ।
यसले विशेष गरी आर्थिक रूपमा कमजोर र दुर्गम क्षेत्रका बिरामीलाई थप समस्या बनाएको छ। “दुई दिन हिँडेर अस्पताल आयौँ, तर यहाँ एक्स–रे हुँदैन भनेर बाहिर जान भनियो,” एक बिरामीका आफन्तले गुनासो गरे। सरकारी अस्पतालमा सेवा नपाएपछि निजी क्लिनिक धाउनुपर्दा खर्च समेत बढेको उनीहरूको भनाइ छ।
स्थानीयका अनुसार कर्णालीका लागि जीवनदायिनी मानिने अस्पतालमै आधारभूत सेवा बन्द हुनु दुःखद अवस्था हो। दैनिक सयौँ बिरामी आउने अस्पतालमा यस्तो सेवा नहुँदा उपचार प्रक्रिया नै प्रभावित भएको उनीहरू बताउँछन्।
अस्पतालभित्र कर्मचारीको मनपरीको आरोप
यसैबीच अस्पतालभित्रै कर्मचारीको दादागिरी र लापरबाहीबारे पनि गुनासो बढ्न थालेको छ। अस्पताल स्रोतका अनुसार रेडियोलोजी विभागमा कार्यरत कर्मचारी मिलन तिमिल्सिनाले नियमित रूपमा काम नगरी केवल हाजिर गर्ने गरेको आरोप लगाइएको छ।
स्रोतका अनुसार उनी बिहान करिब १० बजे आएर हाजिर गर्ने र साँझ ५ बजे मात्र आउट गर्न आउने तर दिनभरि अस्पतालमा उपस्थित नहुने गरेको गुनासो छ। यस विषयमा पटक–पटक मौखिक र लिखित रूपमा जानकारी गराइए पनि हालसम्म कुनै कारबाही नभएको स्वास्थ्यकर्मीहरू बताउँछन्।
अस्पतालका एक स्वास्थ्यकर्मीले नाम नबताउने सर्तमा भने, “संस्थाभित्र पहुँच र पावर भएका कर्मचारीमाथि कारबाही नहुने वातावरण देखिएको छ।”
स्वास्थ्यकर्मीहरूका अनुसार यस्तो प्रवृत्ति बढ्दै गए अस्पतालको सेवा प्रणाली कमजोर बन्ने खतरा छ। स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कर्मचारीको लापरबाही र प्रशासनको उदासीनता अस्वीकार्य भएको उनीहरूको भनाइ छ।
अस्पताल प्रशासनको भनाइ
यता रेडियोलोजी विभागका रेडियोग्राफर सतल रेउलेका अनुसार एक्स–रे मेसिन फागुन १९ गते रातिदेखि बिग्रिएको हो। उनका अनुसार मेसिनको केबिमिटरमा समस्या आएपछि मर्मतका लागि जिल्ला बाहिर पठाइएको छ।
चुनावी बिदासँगै परेकाले मर्मतमा ढिलाइ भएको स्वीकार्दै उनले उडान उपलब्ध भए ४–५ दिनभित्र सेवा पुनः सञ्चालन हुने जानकारी दिए।
यसैगरी कर्मचारीको दादागिरीको विषयमा अस्पताल निर्देशक कमल थानीले हाल अस्पतालमा त्यस्ता कर्मचारी नरहेको दाबी गरेका छन्। “पहिले यस्तो समस्या थियो, त्यसबेला कारबाही गरेका थियौँ। अहिले भने त्यस्तो अवस्था छैन,” उनले भने।
उनका अनुसार यस विषयमा कुनै मौखिक वा लिखित गुनासो नआएको बताउँदै यदि भविष्यमा यस्ता गतिविधि पाइए तत्काल कारबाही गरिने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्