जुम्ला – जुम्लामा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ गरी तीन हजार ३७ मत बदर भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अनुसार प्रत्यक्षतर्फ एक हजार ७०५ र समानुपातिकतर्फ एक हजार १ हजार ३३२ मत बदर भएका हुन्।
प्रत्यक्षतर्फ जुम्लामा ७१ हजार ७३९ मतदाता रहेका थिए। तीमध्ये ४० हजार ८७८ जनाले मात्रै मतदान गरेका थिए। खसेको मत गणना गर्दा एक हजार ७०५ मत बदर भएको कार्यालयले जनाएको छ।
यस्तै समानुपातिकतर्फ ७३ हजार ७३९ मतदाता रहेका थिए। तीमध्ये ४१ हजार ४५१ मत मात्रै खसेको थियो। गणनाको क्रममा एक हजार ३३२ मत बदर भएको हो।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतका अनुसार मतदाता शिक्षाको अभावका कारण ठूलो संख्यामा मत बदर हुने गरेको छ। उनका अनुसार सरकार र निर्वाचन आयोगले निर्वाचन शिक्षा भन्ने गरे पनि त्यसको प्रभावकारिता पर्याप्त देखिएको छैन।
जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र कडेलले भने मत बदर हुनुमा मतदाता शिक्षामात्र कारण नभएको बताए। उनका अनुसार एउटै मतपत्रमा एकभन्दा बढी ठाउँमा छाप लगाउने, हतार गर्ने वा पर्याप्त ध्यान नदिने जस्ता कारणले पनि मतपत्र बदर हुने गरेको छ। उनले सदरमुकाम खलंगा रहेको चन्दननाथ नगरपालिका क्षेत्रका शिक्षित मतदाताबाट समेत उल्लेख्य बदर मत देखिएको बताए।
प्रतिक्रिया दिनुहोस्