श्री कृष्ण सुनार
सुर्खेतमा कक्षा ११ मा अध्ययनरत एक दलित छात्रा मृत अवस्थामा फेला परेपछि स्थानीय समुदायमा गम्भीर चासो र चिन्ता बढेको छ। घटनालाई शंकास्पद मान्दै दलित समुदायका अगुवाहरूले निष्पक्ष र पारदर्शी छानबिनको माग गरेका छन्।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी र हाल वीरेन्द्रनगरमा बस्दै आएकी इनिसा बि.क. सोमबार बिहान मृत अवस्थामा फेला परेकी हुन्। उनी कक्षा ११ मा अध्ययनरत थिइन्।
परिवारका अनुसार इनिसा बिहान “ट्युसन पढ्न जान्छु” भन्दै घरबाट निस्किएकी थिइन्। तर लामो समयसम्म घर नफर्किएपछि परिवारले सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन स्विच अफ भएको बताइएको छ।
केही समयपछि उनकी आमालाई अज्ञात नम्बरबाट फोन गरेर छोरी सुर्खेतस्थित सहिद पार्क क्षेत्रमा बेहोस अवस्थामा रहेको जानकारी दिइएको थियो। त्यसपछि परिवार त्यहाँ पुग्दा इनिसा अचेत अवस्थामा भेटिएकी थिइन्।
प्रहरीले घटनास्थलबाट उनलाई उद्धार गरी प्रदेश अस्पताल, सुर्खेत लगेको थियो। तर अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटना रहस्यमय देखिएकाले प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको स्रोतले बताएको छ।
यस घटनापछि दलित समुदायका अगुवाहरूले दलित बालिकाको सुरक्षासँग जोडिएको विषय भएकाले सम्भावित हिंसाको कोणबाट समेत छानबिन गर्नुपर्ने बताएका छन्। विगतमा पनि दलित समुदायका बालिका तथा महिलामाथि भएका घटनामा न्याय पाउन कठिन हुने गरेको उनीहरूको गुनासो छ।
मृतकका आफन्तले घटनाको वास्तविकता सार्वजनिक गर्न र दोषी जोसुकै भए पनि कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन्।
प्रहरीले भने घटनको कारण पत्ता लगाउन अनुसन्धानलाई तीव्र बनाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्