कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देश–विदेशका विद्यार्थीको भर्ना



जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा शैक्षिक सत्र २०८२ का लागि भर्ना भएका विभिन्न संकायका नयाँ विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

मंगलबार आयोजित कार्यक्रममा एमबीबीएस, बीएससी नर्सिङ, बीएनसी, बीपीएच र बीफार्मा लगायतका विषयमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरूलाई औपचारिक रूपमा स्वागत गर्दै प्रतिष्ठानको अध्ययन प्रणाली, अनुशासन, शैक्षिक गतिविधि तथा कार्यप्रणालीबारे जानकारी दिइएको थियो।

कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, संकाय प्रमुख तथा प्राध्यापकहरूले स्वास्थ्य शिक्षाको अध्ययन गर्दा पालना गर्नुपर्ने अनुशासन, व्यावसायिक आचारसंहिता र सेवामुखी भावनाबारे विद्यार्थीलाई मार्गदर्शन दिएका थिए। उनीहरूले चिकित्सा शिक्षा केवल डिग्री हासिल गर्ने माध्यम नभई समाजप्रति जिम्मेवारी पूरा गर्ने अवसरसमेत भएको बताएका थिए।

अभिमुखीकरणका क्रममा प्रतिष्ठानको शैक्षिक संरचना, प्रयोगशाला, अस्पताल सेवा, अनुसन्धान गतिविधि, छात्रावास व्यवस्था, पुस्तकालय सेवा तथा उपलब्ध शैक्षिक अवसरबारे पनि जानकारी गराइएको थियो। साथै विद्यार्थीहरूलाई कर्णाली क्षेत्रको स्वास्थ्य अवस्थाबारे बुझ्दै यहाँका नागरिकलाई सेवा गर्ने भावना सहित अध्ययनमा लाग्न प्रेरित गरिएको थियो।

यस वर्ष प्रतिष्ठानमा नेपालका विभिन्न जिल्लासँगै भारतबाट पनि विद्यार्थी अध्ययनका लागि भर्ना भएका छन्। धनुषा, कैलाली, तनहुँ, नवलपरासी, धादिङ, कालिकोट, कञ्चनपुर, दैलेख, मोरङ, लमजुङ, रुपन्देही, रौतहट, बाँके, बैतडी, सुर्खेत, महोत्तरी, अर्घाखाँची, रुकुम पश्चिम, चितवन, सिरहा, बारा, मुस्ताङ, बझाङ, कपिलवस्तु, दाङ र म्याग्दी लगायतका जिल्लाका विद्यार्थीहरू यहाँ अध्ययनका लागि आएका छन्।

प्रतिष्ठानले कर्णालीसहित देशभरका विद्यार्थीलाई गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्दै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ। कर्णालीमै उच्चस्तरीय स्वास्थ्य शिक्षा उपलब्ध भएपछि दुर्गम क्षेत्रका विद्यार्थीलाई पनि अध्ययनको राम्रो अवसर प्राप्त भएको प्रतिष्ठानको भनाइ छ।

प्रकाशित मिति : २०८२ फागुन २६ गते मंगलबार
अरु पनि पढ्नुहोस्