इनिसा विकको मृत्यु प्रकरण: निष्पक्ष छानबिन र न्यायको माग गर्दै सुर्खेतमा प्रदर्शन



श्री कृष्ण सुनार

सुर्खेत ।   वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा १६ वर्षीया इनिसा विक मृत अवस्थामा फेला परेको घटनाको निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार, आफन्त तथा मानवअधिकारकर्मीहरूले प्रदर्शन गरेका छन्।

फागुन २७ गते वीरेन्द्रनगर बजार, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि खबरदारी र्‍याली निकाल्दै उनीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका हुन्।

प्रदर्शनका क्रममा “बालिकामाथि हुने बलात्कार, हत्या र हिंसा बन्द गर”, “इनिसालाई न्याय देऊ” र “हत्यारालाई कारबाही गर” जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरिएको थियो।
मृतक इनिसाकी आमा तारा विकले प्रमुख जिल्ला अधिकारीलाई भेटेर घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएकी छन्।

फागुन २३ गते बिहान ट्युसन पढ्न घरबाट निस्किएकी इनिसा वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकैको जंगलमा बेहोस अवस्थामा फेला परेकी थिइन्। घटनास्थलबाटै वीरेन्द्रनगर–९ का १६ वर्षीय एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। यसै घटनामा संलग्न भएको आशंकामा १५, १६ र १७ वर्षका थप तीन जना बालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

इनिसा गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी हुन्। हाल उनी वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन् र वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्।

परिवारका अनुसार घटनास्थलमा उनको शरीर रक्ताम्मे अवस्थामा भेटिएको, कपाल लुछिएको तथा जुत्ता–मोजा छुट्टाछुट्टै अवस्थामा रहेको थियो। आफन्तहरूले इनिसामाथि बलात्कारपछि हत्या गरिएको आशंका व्यक्त गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। बलात्कार भएको वा नभएकोबारे चिकित्सकीय परीक्षणको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने अडान पीडित परिवारले लिएको छ।

यसैबीच इन्सेक कर्णाली, मानव अधिकार रक्षक सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल लगायत विभिन्न संस्थाहरूले पनि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न माग गरेका छन्।

 

प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार
अरु पनि पढ्नुहोस्