इनिशा विक हत्या प्रकरण : एमयूका कानुन विद्यार्थी सडकमा



सुर्खेत । १६ वर्षीया इनिशा विकको सामूहिक बलात्कारपछि हत्या भएको घटनामा न्यायको माग गर्दै मध्यपश्चिम विश्वविद्यालय (एमयू) का कानुन (बीएएलएलबी) अध्ययनरत विद्यार्थीहरूले आन्दोलन सुरु गरेका छन्। उनीहरूले बिहीबार जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि धर्ना दिँदै दोषीमाथि कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन माग गरेका हुन्।

धर्नामा सहभागी विद्यार्थीहरूले सामाजिक सञ्जालमा मृतक इनिशाको चरित्रहत्या गर्ने प्रयास भइरहेको भन्दै त्यसप्रति कडा आपत्ति जनाए। घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बेलामा उल्टै पीडितमाथि आरोप लगाउने गतिविधि अत्यन्त निन्दनीय भएको उनीहरूको भनाइ थियो।

कानुनका विद्यार्थी भएकाले समाजमा विधिको शासन कायम हुनुपर्ने र सबैले कानुनको पालना गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्। साथै, छोरी–चेलीहरूले समाजमा सुरक्षित रूपमा हिँडडुल गर्न पाउने वातावरण सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्ने उनीहरूको माग छ।

विद्यार्थीहरूले अनुसन्धान प्रक्रियामा कुनै पनि राजनीतिक वा बाह्य दबाब नपर्नु पर्ने र निष्पक्ष रूपमा छानबिन अघि बढाउनुपर्ने बताएका छन्। इनिशाले न्याय नपाउन्जेलसम्म आन्दोलन जारी राख्ने प्रतिबद्धता पनि उनीहरूले व्यक्त गरेका छन्।

धर्नाका क्रममा विद्यार्थी टोलीले प्रहरी प्रशासनसँग छलफल समेत गरेको थियो। प्रहरी पक्षले घटनाको अनुसन्धान सकारात्मक रूपमा अघि बढिरहेको र दोषीलाई कानुनी कारबाहीबाट उम्किन नदिने आश्वासन दिएको जनाइएको छ।

गत शनिबार वीरेन्द्रनगरस्थित शहीद पार्क नजिकैको सामुदायिक वन क्षेत्रमा १६ वर्षीया इनिशा विक मृत अवस्थामा फेला परेकी थिइन्। उक्त घटनाले सुर्खेतसहित देशभरका नागरिकमा आक्रोश र चिन्ता बढाएको छ।

 

प्रकाशित मिति : २०८२ फागुन २९ गते शुक्रबार
अरु पनि पढ्नुहोस्