ग्यास अभावको हल्ला नफैलाउन आग्रह, अनावश्यक भण्डारण नगर्न निगमको चेतावनी



जुम्ला ।  नेपाल आयल निगमले देशभर एलपी ग्यास सहज रूपमा उपलब्ध रहेको दाबी गर्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेको छ। निगमले शनिबार सूचना जारी गर्दै ग्यास उद्योगी र विक्रेतालाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिई बिक्री–वितरण गर्न निर्देशन दिएको हो।

सूचनाअनुसार ग्यास उद्योगहरूले प्रत्येक दिन बिहान १० बजेसम्म बिक्री गरिएको परिमाण, उद्योगको ठेगाना र सम्पर्क नम्बर सार्वजनिक गरी निगमलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ। निगमले २९ फागुनदेखि उपभोक्तालाई आधा भरिएको सिलिन्डर पनि उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ।

हाल मध्यपूर्वमा बढ्दो तनावका कारण ग्यास अभाव हुन सक्ने हल्ला फैलिँदा धेरै उपभोक्ताले ग्यास ‘स्टक’ गर्न थालेका छन्। कतिपय व्यापारीले पनि कृत्रिम अभाव देखाउँदै मूल्य बढाउने प्रयास गरेको गुनासो आएको छ। सुर्खेत, जुम्ला तथा कर्णालीका विभिन्न स्थानका स्थानीय डिलरमा ग्यास अभाव भएको भन्दै उपभोक्ताले असन्तुष्टि व्यक्त गरेका छन्।

वीरेन्द्रनगर–३ की लक्ष्मी शर्माले सामाजिक सञ्जालमा ग्यास अभावको समाचार देखेपछि दुईवटा खाली सिलिन्डर भर्न लाइन लागेको बताइन्। तर भेरी ग्यासका सुर्खेत विक्रेता विनोद दाहालले भने बजारमा ग्यासको वास्तविक अभाव नभएको दाबी गरेका छन्।

यसैबीच जिल्ला प्रशासन कार्यालय सुर्खेतले ग्यास वा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरे कडा कारबाही गरिने चेतावनी दिएको छ।
जुम्लामा पनि ग्यास लिन भिड
जुम्लामा पनि ग्यास लिन उपभोक्ताको भीड देखिएको छ। पहिले दाउरा मुख्य इन्धनका रूपमा प्रयोग हुने यो हिमाली जिल्लामा कर्णाली राजमार्ग सञ्चालनमा आएपछि पेट्रोलियम पदार्थ र एलपी ग्यासको प्रयोग बढेको हो।

तर पछिल्ला दिनमा बाहिरबाट ग्यास कम आउन थालेपछि जुम्लामा डिलरमा लाइन लाग्न थालेको छ। जुम्ला बसपार्क क्षेत्रमा ट्रकबाटै ग्यास वितरण गरिएको थियो, जहाँ पहिलो दिन ५०० सिलिन्डर बाँडिएको लगन स्टोर एन्ड सप्लायर्सका सञ्चालक पृथ्वीबहादुर शाहीले जानकारी दिए।

निमित्त प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलका अनुसार आइतबार थप ३०० सिलिन्डर वितरण गरिनेछ। जुम्ला सदरमुकाम खलंगामा मासिक करिब दुई हजार सिलिन्डर ग्यास आवश्यक पर्ने बताइएको छ। हाल प्रतिसिलिन्डर २२०० रुपैयाँमा ग्यास वितरण भइरहेको छ भने आधा भरिएको सिलिन्डर १२०० रुपैयाँमा उपलब्ध गराइनेछ।

अतिरिक्त भण्डारण नगर्न प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय सिराहाले पनि खाना पकाउने ग्यास अनावश्यक रूपमा भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी चेतराज बरालले अतिरिक्त मूल्य लिएर बिक्री–वितरण गर्ने र अस्वाभाविक रूपमा ग्यास भण्डारण गर्ने गतिविधि नगर्न चेतावनी दिएका छन्।
पोखरामा ग्यास लुकाएर राख्ने ट्रेडर्सलाई जरिवाना

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा–६ जरेवरस्थित भण्डारी ट्रेडर्सलाई ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरेको आरोपमा ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

अनुगमनका क्रममा १४.२ केजीका ४८ सिलिन्डर लुकाएर एउटाबाट अर्को सिलिन्डरमा ग्यास सार्ने उपकरणसहित फेला परेपछि कारबाही गरिएको हो। प्रशासनले आगामी दिनमा कृत्रिम अभाव सिर्जना नगर्न र उपभोक्तालाई पहिलो आउनेलाई पहिलो सेवा दिने व्यवस्था अपनाउन निर्देशन दिएको छ।

 

प्रकाशित मिति : २०८२ चैत १ गते आइतबार
अरु पनि पढ्नुहोस्