कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर मा आयोजना हुने “कर्णाली उत्सव: कुडा कर्नालीका” को सातौँ संस्करण आगामी चैत २८, २९ र ३० गते सञ्चालन हुने भएको छ।
राजनीतिक, सामाजिक तथा आर्थिक विषयमा बहस र विचार आदान–प्रदान गर्ने साझा मञ्चका रूपमा स्थापित यो उत्सव यसअघि छ वटा संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन्।
उत्सवका आयोजक ऋति फाउन्डेसन का अनुसार यस वर्ष पनि कार्यक्रम तीन दिनसम्म सिटी हल को प्राङ्गणमा सञ्चालन गरिनेछ।
उत्सवका कार्यकारी निर्देशक दिनेश गौतम का अनुसार पहिलो दिन आर्थिक विषयमा केन्द्रित बहस गरिनेछ भने दोस्रो दिन वातावरण र प्रकृतिसँग सम्बन्धित मुद्दामा विभिन्न सत्र सञ्चालन हुनेछन्। तेस्रो दिन समसामयिक राजनीति र सुशासनका विषयमा छलफल हुने कार्यक्रम तय गरिएको छ।
उत्सवमा प्यानल छलफलका साथै कर्णालीका प्रतिभाशाली व्यक्तिहरूले आफ्ना अनुभव र जीवनकथा सुनाउने ‘पैकेलो’ सत्र पनि रहनेछ।
यसका साथै सांस्कृतिक साँझ, गजल साँझ लगायतका सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरू पनि आयोजना गरिनेछन्। आयोजकका अनुसार उत्सवका प्रत्येक दिन समसामयिक विषयमा ख्यातिप्राप्त व्यक्तिहरूका विशेष प्रवचनसमेत प्रस्तुत गरिनेछ।

प्रतिक्रिया दिनुहोस्