एक वर्षमा ३३० हेक्टरभन्दा बढी वन क्षेत्र डढेलोबाट प्रभावित



धन सिंह रावत जुम्ला

जुम्ला । जुम्ला जिल्लामा गत आर्थिक वर्षमा लागेको वन डढेलोका कारण ठूलो परिमाणमा वन क्षेत्र क्षति पुगेको छ। डिभिजन वन कार्यालय जुम्लाका अनुसार सो अवधिमा जिल्लाका विभिन्न २९ स्थानमा डढेलो लाग्दा करिब ३३० दशमलव २८ हेक्टर वन क्षेत्र प्रभावित भएको हो।

डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाका अनुसार डढेलोका कारण वन क्षेत्र मात्र नभई जैविक विविधतामा समेत नोक्सानी पुगेको छ। चालु आर्थिक वर्षको हालसम्मको आठ महिनाको अवधिमा पनि जिल्लाका आठवटै स्थानीय तहअन्तर्गत विभिन्न ६ स्थानमा डढेलो लागिसकेको छ, जसबाट करिब १०० हेक्टर वन क्षेत्र प्रभावित भएको अनुमान गरिएको छ।

वन डढेलो नियन्त्रण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले डिभिजन वन कार्यालय जुम्लाले सरोकारवाला निकायहरूसँग वन सुरक्षा समन्वय समिति बैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा कार्यालय प्रमुख बुढ्थापाले “वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र समुदायको सहभागिता” भन्ने मूल नाराका साथ चैत १ देखि ७ गतेसम्म जिल्लाभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

हरेक वर्ष गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा डढेलो लाग्ने क्रम बढ्दै जाने गरेको छ। विशेषगरी विकट भौगोलिक अवस्थाका कारण दमकल र अन्य साधन पुग्न कठिन हुने भएकाले आगो नियन्त्रण गर्न चुनौती हुने गरेको सरोकारवालाहरूको भनाइ छ।

सहायक प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलले वन संरक्षण तथा डढेलो नियन्त्रणमा स्थानीय समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए। समयमै सचेतना र सहकार्य भए वन डढेलोबाट हुने क्षति कम गर्न सकिने उनको भनाइ थियो।

 

प्रकाशित मिति : २०८२ चैत २ गते सोमबार
अरु पनि पढ्नुहोस्