कालीकोट । कालीकोट जिल्लामा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। रास्कोट नगरपालिका–८ बाँखरकोटका करिब ५० वर्षीय मन वरालको करेन्ट लागेर ज्यान गएको हो।
स्थानीयका अनुसार वराल डिलचाखा भन्ने वन क्षेत्रमा बाख्रा चराउन गएका बेला अचानक विद्युत् तार छोइएपछि उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेको खबर पाएपछि स्थानीयले तत्काल विद्युत् गृहमा फोन गरेर बत्ती बन्द गरिदिन आग्रह गरेका थिए।
स्थानीय कमलप्रसाद वरालका अनुसार करेन्ट लाग्दा नै मन वरालको घटनास्थलमै मृत्यु भइसकेको थियो।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले करेन्ट लागेर एक जनाको मृत्यु भएको सूचना प्राप्त भएको पुष्टि गरेका छन्। घटनाबारे थप विवरण संकलन गर्न इलाका प्रहरी कार्यालय रास्कोटबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको उनले जानकारी दिए।
प्रकाशित मिति : २०८२ चैत २ गते सोमबार
प्रतिक्रिया दिनुहोस्