डोल्पामा भएको बोलेरो जिप दुर्घटनामा एक युवकको ज्यान गएको छ।
मुड्केचुला गाउँपालिका–३ काङ्ग्रे खोलामा मंगलबार साँझ करिब ५:१८ बजे ईल (खर्क) बाट त्रिवेणीतर्फ जाँदै गरेको बा.१७ च. ३९७० नम्बरको बोलेरो जिप अनियन्त्रित भई करिब ३०–४० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिप चालक २३ वर्षीय सल्मान रोकायाको घटनास्थलमै मृत्यु भएको हो। उनी मुड्केचुला–३ भोटगाउँका स्थायी बासिन्दा भए पनि हाल रुकुम पश्चिमको त्रिवेणीमा बस्दै आएका थिए। दुर्घटना हुँदा उनी जिपमा एक्लै रहेको जनाइएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय कालिका डोल्पाबाट प्रहरी सहायक निरीक्षक हरक सिंह लोथ्यालको नेतृत्वमा ५ जना र प्रहरी चौकी ईलबाट प्रहरी सहायक निरीक्षक विनोद कुमार थापाको नेतृत्वमा ४ जनाको टोली घटनास्थलमा खटिएको थियो।
हाल मृतकको शव घटनास्थलमै राखिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। दुर्गम भौगोलिक अवस्था र जोखिमपूर्ण सडकका कारण डोल्पामा सवारी दुर्घटनाका घटना दोहोरिँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस्