जुम्ला । पाठेघरको मुखको क्यान्सरबाट बच्न प्रयोग गरिने एचपीभी खोप अभियान जुम्लामा सञ्चालन हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्लामा यो अभियान सुरु गर्न लागिएको हो।
हाल एचपीभी खोपलाई नियमित खोप कार्यक्रममै समावेश गरिसकिएको छ । जिल्लाका आठ वटै स्थानीय तहका ८४ विद्यालयमा खोप केन्द्र स्थापना गरेर खोप सेवा प्रदान गरिने जनाइएको छ।
जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यको प्रमुख आतिथ्यतामा बुधबार अभियानको पूर्वतयारी तथा सूक्ष्म योजना सम्बन्धी छलफल गरिएको थियो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माका अनुसार चैत ९ गतेदेखि जिल्लाभरका ८४ खोप केन्द्रबाट खोप अभियान सुरु गरिनेछ।
यस अभियानअन्तर्गत जुम्लाका आठ स्थानीय तहका कुल १,२७७ जना किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ। कक्षा ६ मा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई मात्र यो खोप लगाइनेछ।
स्थानीय तहअनुसार चन्दननाथ नगरपालिकामा २७७, तातोपानी गाउँपालिकामा १६४, गुठिचौरमा ७७, पातारासीमा २२१, तिलामा १८५, हिमामा २२१, सिजामा १३५ र कनकासुन्दरीमा १७७ जना किशोरीलाई खोप प्रदान गरिनेछ।
गत वर्ष कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरीलाई खोप दिइएको थियो भने यस वर्ष कक्षा ६ का किशोरीलाई मात्र समेटिएको जनस्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी प्रेम सुमाइले जानकारी दिए।
सरकारले एचपीभी खोपलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले खोपले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र बालमृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
अभियान प्रभावकारी बनाउन लक्षित सबै किशोरीसम्म खोप पुर्याउने र कोही पनि छुट्न नदिने तयारी गरिएको स्वास्थ्य कार्यालयको भनाइ छ।
नेपालमा खोप कार्यक्रम २०३४ सालदेखि सञ्चालन हुँदै आएको छ। कार्यक्रममा स्थानीय तहका स्वास्थ्य शाखा प्रतिनिधि, स्वास्थ्यकर्मी तथा पत्रकारहरूको सहभागिता रहेको थियो।
जिल्लामा खोप अभियान सफल बनाउन सञ्चारकर्मी तथा अन्य सरोकारवालासँग सकारात्मक सहयोगको अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्