जुम्ला । प्रधानमन्त्री शुसिला कार्की कर्णाली प्रदेशको भ्रमणका क्रममा मुगु हुँदै आज जुम्ला आउने कार्यक्रम रहेको छ । उनी बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पुगेकी थिइन् ।
सुर्खेतबाट मुगुस्थित राराताल पुगेर प्रधानमन्त्री कार्कीले त्यहाँ सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गर्नुका साथै तालको अवलोकन गरेकी छन् ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार प्रधानमन्त्री अहिले मुगुमा रहेकी छन् र आजै जुम्ला आउने कार्यतालिका तय गरिएको छ ।
जुम्ला पुगेपछि उनले २४ नम्बर बाहिनीमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्ने र दिउँसो करिब ३–४ बजेतिर कर्णाली प्राविधिक शिक्षालयको निरीक्षण गर्ने कार्यक्रम छ ।
भोलि बिहान चन्दननाथ भैरवनाथ मन्दिरमा दर्शन गरेपछि प्रधानमन्त्री जनकपुर प्रस्थान गर्ने योजना रहेको छ । भ्रमणमा उनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद सुवेदी, आदर्शकुमार श्रेष्ठ तथा प्रेस सल्लाहकार रामबहादुर रावल पनि सहभागी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्