चैत ९ गते जुम्लामा दुई उडान गर्ने सहमतिपछि नेपाल एयरलाईन्सको कार्यालयको ताला खोलियो



जुम्ला । नेपाल एयरलाईन्सले चैत ९ गते जुम्लाका लागि दुई वटा उडान गर्ने प्रतिबद्धता जनाएपछि जुम्लास्थित नेपाल वायु सेवा निगमको कार्यालयमा लगाइएको ताला खोलिएको छ।
दुई सातादेखि नियमित उडान नहुँदा तथा आइतबारको उडान अन्तिम समयमा रद्द भएपछि आक्रोशित यात्रुहरूले निगमको कार्यालयमा ताला लगाएका थिए।

यस विषयमा जिल्ला प्रशासन कार्यालयमा नेपाल पत्रकार महासंघको पहलमा छलफल गरिएको थियो। उक्त छलफलमा नेपाल एयरलाईन्ससहित सिता, समिट र तारा एयरका नियमित उडान सुनिश्चित गर्न माग राखिएको थियो।

छलफलपछि आइतबारको उडान विभिन्न कारणले रद्द भएको जानकारी दिँदै सोमबार रद्द भएको उडानसहित नियमित उडान गरी दुई उडान सञ्चालन गर्ने सहमति भएको निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलले जानकारी दिए।

उनका अनुसार प्रशासनले नेपाल एयरलाईन्ससहित निजी विमान कम्पनीहरूलाई जुम्लामा नियमित उडान सञ्चालन गर्न पत्राचारसमेत गरेको छ।

नेपाल एयरलाईन्सका महानिर्देशक अमृतमान श्रेष्ठले पनि सोमबार दुई उडान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। बिहान १० देखि ११ बजेसम्म पहिलो उडान र त्यसपछि दिउँसो दोस्रो उडान गर्ने गरी नेपालगञ्ज स्टेशनलाई निर्देशन दिइसकेको उनले बताएका छन्।

सोही सहमतिपछि कार्यालयमा लगाइएको ताला खोलिएको जुम्ला स्टेशन इन्चार्ज उकान्त न्यौपानेले जानकारी दिए।

 

प्रकाशित मिति : २०८२ चैत ८ गते आइतबार
अरु पनि पढ्नुहोस्