काठमाडौँ — संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहणदेखि प्रारम्भिक बैठक सञ्चालनसम्मका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।
मंगलबार सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवनबारे जानकारी दिँदै सचिवालयले शपथ तथा प्रारम्भिक बैठकहरू बहुउद्देश्यीय हलमै सञ्चालन गरिने जनाएको हो। प्रतिनिधिसभाको मुख्य बैठक कक्ष अझै निर्माणाधीन रहेकाले प्रारम्भिक चरणका सबै गतिविधि सोही हलमा सञ्चालन हुने बताइएको छ।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बहुउद्देश्यीय हलमा सिट व्यवस्थापन, रोष्ट्रम, सभामुखको आसन, महासचिव, सचिव तथा अन्य आवश्यक प्राविधिक र प्रशासनिक व्यवस्थाहरू मिलाइएको छ।
त्यस्तै, हल नजिकै रहेको नयाँ भवनमा कार्य व्यवस्था शाखा, कार्यव्यवस्था परामर्श समितिको बैठक कक्ष र सभामुखको कार्यालयको समेत व्यवस्था गरिएको उनले बताए।
प्रवक्ता गिरीले संसद् भवन निर्माणको वर्तमान प्रगतिलाई हेर्दा शपथपछिको पहिलो अधिवेशनका बैठकहरू पनि बहुउद्देश्यीय हलमै सञ्चालन हुने सम्भावना रहेको उल्लेख गरे। यद्यपि, त्यहाँबाट बैठक सञ्चालन गर्दा केही प्राविधिक तथा व्यवस्थापकीय चुनौती देखिन सक्ने भएकाले निर्माण कार्य शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायलाई निरन्तर आग्रह गरिँदै आएको उनले बताए।
नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते बहुउद्देश्यीय हलमै हुने संसद् सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्