ब्रिज कोर्स कक्षा बन्द गर्ने सरकारको निर्णय



काठमाडौँ – सरकारले विद्यालय र उच्च शिक्षामा भर्ना तयारीका लागि सञ्चालन हुँदै आएका ‘ब्रिज कोर्स’ कक्षाहरू बन्द गर्ने निर्णय गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेल ले प्रवेश परीक्षाको तयारीका नाममा चलाइने यस्ता कक्षाहरू रोक्ने निर्णय गरेका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उक्त निर्णय आगामी वैशाख १ गतेदेखि कार्यान्वयनमा आउनेछ।

मन्त्रालयले विद्यार्थीको मानसिक अवस्थामाथि नकारात्मक असर पर्ने, शिक्षामा समान पहुँचमा बाधा पुग्ने तथा अभिभावकमाथि अतिरिक्त आर्थिक भार पर्ने भएकाले यस्ता कार्यक्रम बन्द गर्नुपर्ने ठहर गरेको जनाएको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटा द्वारा जारी विज्ञप्तिमा विद्यालय तथा उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित ‘ब्रिज कोर्स’ तथा तयारी कक्षाहरू २०८३ साल वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्न मन्त्रीस्तरीय निर्णय भएको उल्लेख गरिएको छ।साथै, यस्ता कार्यक्रम सञ्चालन भए नभएको अनुगमन गर्न र सञ्चालन गरेको पाइएमा कानुनअनुसार कारबाही अघि बढाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार
अरु पनि पढ्नुहोस्