जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ परेकी छन्। गुठीचौर गाउँपालिका–३ गज्यांकोटकी २२ वर्षीया कविता बुढालाई प्रहरीले चैत १६ गते नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार चैत १५ गते साँझ चन्दननाथ नगरपालिका–५ कालेखोलीस्थित एक होटलमा उनले सोही क्षेत्रका २७ वर्षीय राजबहादुर सुनारमाथि अपमानजनक शब्द प्रयोग गर्दै जातीय विभेद गरेको आरोप लागेको छ।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएको थियो। उजुरीपछि अनुसन्धान थालेको प्रहरीले आरोपितलाई पक्राउ गरेको डिएसपी नविनबाबु रेग्मीले जानकारी दिएका छन्।
यसैबीच, उक्त भिडियो सार्वजनिक भएपछि आरोपितले पत्रकार महेश नेपालीमाथि दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघ जुम्लाले आपत्ति जनाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै यस्तो असभ्य व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।
नेपालको संविधान र जातीय छुवाछूत तथा भेदभावसम्बन्धी कानुनअनुसार यस्ता कार्य दण्डनीय मानिन्छन्।
प्रतिक्रिया दिनुहोस्