जुम्लामा दरबन्दी भए पनि कर्मचारी राजधानीमा बस्दा सेवा प्रभावित



जुम्ला। जिल्ला प्रशासन कार्यालय जुम्लामा अधिकृत स्तरका कर्मचारी अभाव देखिँदा दैनिक प्रशासनिक कामकाज र सेवा प्रवाह प्रभावित भएको छ। दरबन्दी जुम्लामै भए पनि मुख्य दुई कर्मचारी काठमाडौँस्थित सिंहदरबारमा काजमा बसेपछि कार्यालय सञ्चालनमा कठिनाइ बढेको हो।

कार्यालय स्रोतका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शान्ति महत र शाखा अधिकृत रेश्मा बुढा-क्षेत्री हाल सिंहदरबारमै कार्यरत छन्। महतलाई गृह मन्त्रालयले गत मंसिर ८ गते जुम्लामा सरुवा गरे पनि उहाँ अहिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काजमा हुनुहुन्छ। त्यस्तै, असोजमा जुम्ला सरुवा भएकी बुढा-क्षेत्री हाल कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा काजमा कार्यरत रहनु भएको छ।

दुवै कर्मचारी राजधानीमै रहे पनि उनीहरूले सेवा–सुविधा भने जुम्ला प्रशासन कार्यालयबाटै लिइरहेको स्रोतको भनाइ छ। अधिकृत स्तरका कर्मचारीको अभावका कारण नागरिकता, राहदानी सिफारिस, शान्ति सुरक्षा समन्वय तथा विपद् व्यवस्थापनजस्ता अत्यावश्यक सेवामा प्रत्यक्ष असर परेको छ। सेवाग्राहीले समयमै सेवा नपाउँदा गुनासो बढ्दै गएको छ भने कार्यालयभित्र कार्यविभाजनमा समेत समस्या देखिएको छ।

प्रशासनका एक कर्मचारीका अनुसार दरबन्दी जुम्लामा भए पनि कर्मचारी बाहिर बस्दा दैनिक कामकाजमा ठूलो असर परेको छ। उहाँले काजमा रहेका कर्मचारीलाई सम्बन्धित कार्यालयमै फर्काएर खटाउन आवश्यक रहेको बताउनुभयो।

दुर्गम जिल्लाबाट सेवा–सुविधा लिने तर बसोबास भने सुगम क्षेत्रमा राख्ने प्रवृत्ति बढ्दै गएको भन्दै स्थानीयले यसको अन्त्य गर्न माग गरेका छन्। यस्ता अभ्यासले दुर्गम क्षेत्रका कार्यालयहरू कमजोर बन्दै जाने र सेवाग्राही प्रत्यक्ष मारमा पर्ने अवस्था सिर्जना हुने चिन्ता व्यक्त गरिएको छ।

 

प्रकाशित मिति : २०८२ चैत २४ गते मंगलबार
अरु पनि पढ्नुहोस्