जुम्ला। जुम्लाबाट नेपालगञ्जतर्फ बिरामी बोकेर जाँदै गरेको एम्बुलेन्स कालिकोटमा दुर्घटनामा पर्दा २ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन्।
चैत २५ गते साँझ करिब ८:१० बजे कालिकोटको खाडाचक्र नगरपालिका–२ स्थित मेयरखोला नजिक हिमा गाउँपालिकाद्वारा सञ्चालित क.प्र.०१००१झ००२४ नम्बरको एम्बुलेन्स सडकबाट करिब २५ मिटर तल खस्दा दुर्घटना भएको हो।
एम्बुलेन्समा सवार ४ जनामध्ये जुम्ला हिमा गाउँपालिका–६ पातरखोलाका करिब ३२ वर्षीय भिमबहादुर अधिकारी र चालक हिमा गाउँपालिका–७ का करिब २६ वर्षीय शक्तिबहादुर शाहीको मृत्यु भएको छ।
दुर्घटनामा पातरखोलाका करिब ६०/६५ वर्षीय कलबहादुर अधिकारी (खुट्टामा चोट) र हिमा गाउँपालिका–७ मर्चीका २० वर्षीय लोकेन्द्र शाही (कान र पेटमा सामान्य चोट) घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र थप उपचारका लागि पहल भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
प्रतिक्रिया दिनुहोस्