जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीस्थित नाग्मा–जुम्ला सडकखण्डमा बोलेरो गाडीको ठक्करबाट एक जना साइकल चालक घाइते भएका छन्।
शुक्रबार बिहान करिब ९ः२५ बजे नाग्माबाट जुम्ला बजारतर्फ आउँदै गरेको भे १ च ४३६० नम्बरको बोलेरोले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। बोलेरो सिञ्जा गाउँपालिका–६ का २६ वर्षीय बमबहादुर बुढाले चलाइरहेका थिए।
दुर्घटनामा तातोपानी गाउँपालिका–४ हाँकुका करिब ३२ वर्षीय टिकाराम न्यौपाने घाइते भएका छन्। उनको टाउको र नाकमा चोट लागेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी चौकी हाँकुबाट प्रहरी सहायक निरीक्षक पृथ्वीबहादुर बुढाको नेतृत्वमा खटिएको टोलीले घाइतेको उद्धार गरेको थियो। उनलाई तातोपानी गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाइएको छ। अस्पतालका अनुसार उनको अवस्था सामान्य रहेको छ।
दुर्घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी रबिनबाबु रेग्मीले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्