प्रथम स्ववियु कपको उपाधि पातारासीलाई, तातोपानी उपविजेतामा सीमित



जुम्ला । प्रथम स्ववियु कप भलिबल प्रतियोगिताको उपाधि पातारासी गाउँपालिकाले जितेको छ। शनिबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा पातारासीले तातोपानी गाउँपालिकालाई पराजित गर्दै उपाधि आफ्नो नाममा दर्ज गरेको हो। तातोपानी भने उपविजेतामै सीमित भयो।

उपाधिसँगै पातारासीको टोलीले नगद १ लाख १ हजार १ सय १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै उपविजेता तातोपानी गाउँपालिकाले ५१ हजार १ सय १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) जुम्लाका सभापति लोकेन्द्र बहादुर बुढाले जानकारी दिए।

स्ववियु जुम्लाको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट ९ वटा टोली सहभागी भएका थिए। प्रतियोगिताभर भएका खेलहरू प्रतिस्पर्धात्मक र दर्शकका लागि आकर्षक बनेका थिए।

सभापति बुढाले यस्ता खेलकुद प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता पहिचान गर्न तथा युवाहरूलाई खेलतर्फ प्रेरित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २०८३ वैशाख १२ गते शनिबार
अरु पनि पढ्नुहोस्