आज (वैशाख १५) देखि विद्यालय तहको नयाँ शैक्षिक सत्र औपचारिक रूपमा सुरु भएको छ। सरकारको निर्णयअनुसार प्रत्येक वर्ष वैशाख १५ गतेबाट नयाँ शैक्षिक सत्र सञ्चालन गरिने व्यवस्था गरिएको हो।
यसअघि वैशाख २ गतेदेखि शैक्षिक सत्र सुरु हुँदै आएको भए पनि वार्षिक परीक्षा सम्पन्न नहुँदै निजी विद्यालयहरूले भर्ना प्रक्रिया अघि बढाउने प्रवृत्ति रोक्न तथा इन्धन आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै वैशाख १५ बाट भर्ना सुरु गर्ने निर्णय गरिएको थियो। यद्यपि, केही स्थानीय तहको सहजीकरणमा यसअघि नै विद्यार्थी भर्ना सम्पन्न भइसकेको छ।
सरकारले गत चैत २२ गते निजी (संस्थागत) विद्यालयहरूले कानुनविपरीत असुल गर्दै आएको भर्ना तथा अन्य शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ मा उल्लेखित शुल्कबाहेक अतिरिक्त रकम लिएको पाइए कानुनी प्रक्रिया अघि बढाई त्यस्ता शुल्क फिर्ता गराउन सबै स्थानीय तहलाई आग्रह गरेको थियो।
यस्तै, वार्षिक परीक्षाको नतिजा सार्वजनिक नभएको, शैक्षिक सत्र सुरु नभएको तथा शिक्षा नियमावली, २०५९ अनुसार आवश्यक सक्कल प्रमाणपत्र प्राप्त नभएको अवस्थामा भर्ना सम्बन्धी सूचना प्रकाशित नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना प्रक्रिया सञ्चालन गर्नुपर्ने आदेश दिएको थियो।
यसअघि प्रत्येक वर्ष वैशाख २ गतेदेखि सुरु हुने शैक्षिक सत्र अब वैशाख १५ बाट सञ्चालन हुने भएको छ। मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले पनि वार्षिक परीक्षा सकिएर नतिजा प्रकाशित भएपछि मात्रै नयाँ शैक्षिक सत्र २०८३ को भर्ना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको थियो।
प्रतिक्रिया दिनुहोस्