जुम्लाको पातारासी गाउँपालिकाका युवा समाजसेवी अमर विष्टले दुई सामुदायिक विद्यालयका २४२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेका छन्। उनले तिला गाउँपालिका–१ को रारा गाउँस्थित महादेव आधारभूत विद्यालयका १३३ जना र तातोपानी गाउँपालिका–६, हियाँखोलामा रहेको कालिका आधारभूत विद्यालयका ११० जना विद्यार्थीलाई ट्र्याकसुट र टी–सर्ट उपलब्ध गराएका हुन्।
विदेशमा कमाएको आम्दानी बचत गरी गाउँका विपन्न विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले पोशाक वितरण गरिएको विष्टले बताए। उनका अनुसार, आर्थिक अभावका कारण पढाइमा असर परिरहेका विद्यार्थीलाई केही राहत मिलोस् भन्ने हेतुले यसअघि शैक्षिक सामग्रीसमेत सहयोग गरिएको थियो।
महादेव आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रामबहादुर बुढाले पोशाकले विद्यार्थीबीच एकरूपता ल्याउनुका साथै नियमित विद्यालय उपस्थितिमा पनि सकारात्मक प्रभाव पार्ने बताए। यस्तै, वडाध्यक्ष जंगबहादुर बस्नेतले पोशाक अभावका कारण विद्यालय नआउने अवस्था अन्त्य गर्न यस सहयोगले मद्दत पुग्ने विश्वास व्यक्त गरे।
उनले सीमित वडास्तरीय बजेटका बाबजुद शिक्षाको गुणस्तर सुधारका लागि विभिन्न पहल भइरहेको उल्लेख गर्दै, “शिक्षा नै सभ्य र समुन्नत समाज निर्माणको आधार हो,” भने। अब पोशाक अभावका कारण विद्यार्थीलाई विद्यालय जान असहज नहुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्