लगातार दोस्रो पटक हिमाको कब्जामा रनिङ शिल्ड, २५ स्वर्णसहित ऐतिहासिक सफलता



धन सिंह रावत
जुम्ला। १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै हिमा गाउँपालिकाले सर्वाधिक २५ स्वर्ण पदक जितेर लगातार दोस्रो पटक रनिङ शिल्ड आफ्नो नाममा पार्न सफल भएको हो।

हिमा गाउँपालिकाका खेलकुद प्रशिक्षक धिरेन्द्र रोकायाका अनुसार चन्दननाथ नगरपालिका १४ स्वर्ण पदकसहित दोस्रो स्थानमा रहँदा पातारासी गाउँपालिकाले ५ स्वर्ण पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ। गत वर्षको प्रतियोगितामा पनि हिमा गाउँपालिका प्रथम बनेको थियो।

गाउँपालिकाका अनुसार प्रतिकूल मौसम, भौगोलिक विकटता तथा विभिन्न चुनौतीबीच पनि सम्पूर्ण संयन्त्र परिचालन गर्दै प्रतियोगिता व्यवस्थित र सफल रूपमा सम्पन्न गरिएको हो। प्रतियोगिता सफल बनाउन शिक्षा, युवा तथा खेलकुद शाखा, शिक्षा युवा तथा खेलकुद उपाध्यक्ष धिरेन्द्र रोकाया, कालिका मावि तलिकुडुका खेल प्रशिक्षक तथा खेलप्रेमी डुगल शाही, नेत्रज्योति मावि ओदीका प्रधानाध्यापकसहित विद्यालय परिवार, विभिन्न खेल प्रशिक्षक, सुरक्षाकर्मी, पत्रकार, स्वयंसेवक तथा स्थानीय समुदायको महत्वपूर्ण योगदान रहेको जनाइएको छ।

यस वर्ष गुठीचौर गाउँपालिका बाहेक जिल्लाका सातवटै पालिकाको सहभागिताले प्रतियोगिता थप प्रतिस्पर्धात्मक र आकर्षक बनेको आयोजकले जनाएको छ। सहभागी सम्पूर्ण पालिका तथा खेलाडीप्रति आयोजक हिमा गाउँपालिकाले आभार व्यक्त गरेको छ।

प्रतियोगिताभर अनुशासित र शान्तिपूर्ण वातावरणमा उत्कृष्ट खेल प्रदर्शन गर्ने सम्पूर्ण खेलाडी तथा पालिकालाई बधाई दिँदै गाउँपालिकाले खेलप्रेमी युवा तथा खेलाडीहरूको क्षमता विकाससँगै उज्ज्वल खेल भविष्यको शुभकामना व्यक्त गरेको छ।

 

प्रकाशित मिति : २०८३ वैशाख २५ गते शुक्रबार
अरु पनि पढ्नुहोस्