दुई दिनभित्र एसईई नतिजा सार्वजनिक हुने सम्भावना



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको जनाएको छ ।
बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार प्राविधिक समस्या नआए आगामी दुई दिनभित्र नतिजा सार्वजनिक गरिनेछ । उनका अनुसार नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ ।

यस वर्षको एसईई परीक्षा गत चैतको दोस्रो सातादेखि सञ्चालन भएको थियो । परीक्षा सम्पन्न भएको करिब एक महिनामै नतिजा सार्वजनिक गर्ने तयारी बोर्डले गरेको हो ।

यसपटक एसईईमा कुल ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए । नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जना तथा ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षा दिएका थिए ।
परीक्षामा छात्राको सहभागिता छात्रभन्दा बढी रहेको बोर्डले जनाएको छ । सहभागीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र तथा अन्य सात जना रहेका छन् ।

जापानस्थित एक परीक्षा केन्द्रबाट समेत २३ जनाले परीक्षा दिएका थिए । देशभरका ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी एसईईमा सहभागी भएका थिए ।

यस वर्ष उत्तरपुस्तिका परीक्षण पनि विद्यार्थीले परीक्षा दिएको केन्द्रमै गरिएको बोर्डले जनाएको छ ।

 

प्रकाशित मिति : २०८३ वैशाख २७ गते आइतबार
अरु पनि पढ्नुहोस्