डोल्पामा लेक लागेर जुम्लाकी किशोरीको मृत्यु



जुम्ला। डोल्पाको उच्च हिमाली क्षेत्रमा लेक लाग्दा जुम्लाकी एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा गुठिचौर गाउँपालिका–१ मणिगाउँकी १७ वर्षीया मनजली रोकाया रहेकी छन्।

कामको खोजीमा शे फोक्सुण्डो गाउँपालिका अन्तर्गत भिजेर क्षेत्रतर्फ जाँदै गरेकी रोकायालाई काङ्ला पास आसपास पुगेपछि लेक लागेको बताइएको छ। उनलाई टाउको अत्यधिक दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने तथा सास फेर्न कठिनाइ हुने जस्ता समस्या देखिएको थियो।

अवस्था गम्भीर बनेपछि उपचारका लागि फोक्सुण्डो स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको स्थानीय स्रोतले जनाएको छ।

 

स्वास्थ्य चौकीमा अक्सिजन र सीपीआरमार्फत उपचार प्रयास गरिए पनि उनको ज्यान बचाउन नसकिएको बताइएको छ।

 

समुद्री सतहदेखि करिब ३६ सय मिटरभन्दा बढी उचाइमा रहेको उक्त क्षेत्रमा पछिल्लो समय यार्चागुम्बा संकलन गर्ने तथा घुमफिरका लागि जाने मानिसहरूको चहलपहल बढ्दै गएको छ।

 

घटनापछि स्थानीय प्रशासन तथा स्वास्थ्यकर्मीहरूले उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। पर्याप्त पानी पिउने, बिस्तारै उचाइ चढ्ने तथा लेकको लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न सबैलाई अनुरोध गरिएको छ। साथै विद्यार्थी, पर्यटक र मजदुरीका लागि जाने व्यक्तिलाई अझ बढी सतर्क रहन सुझाव दिइए

को छ।

 

प्रकाशित मिति : २०८३ वैशाख ३० गते बुधबार
अरु पनि पढ्नुहोस्