जुम्ला । तातोपानी गाउँपालिका स्तरीय नागरिक समाज गठन गरिएको छ । बुधबार तातोपानीमा सम्पन्न सर्वपक्षीय भेलाले पत्रकार सागर परियारलाई सर्वसम्मत रूपमा समाजको संयोजक चयन गरेको हो ।
नवगठित नागरिक समाज १९ सदस्यीय रहेको छ । समाजमा विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिएको बताइएको छ । यसअघि समाजको संयोजकको जिम्मेवारी प्रेम अधिकारीले निर्वाह गर्दै आएका थिए ।
सहयात्रा तेर्सो परियोजनाको सहजीकरण तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा नागरिक समाज गठन गरिएको सहयात्रा तेर्सो परियोजनाका अधिकृत प्रकाश शाहीले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाभित्र रहेका कुरिती, कुसंस्कार, सामाजिक विकृति तथा बेथितिविरुद्ध खबरदारी गर्ने, सार्वजनिक सरोकारका विषयमा नागरिकको आवाज उठाउने र स्थानीय तहलाई आवश्यक सुझाव प्रदान गर्ने उद्देश्यले समाज गठन गरिएको हो । साथै सामाजिक उत्तरदायित्व र सुशासनलाई थप प्रभावकारी बनाउने लक्ष्य पनि रहेको उनले बताए ।
नवनिर्वाचित संयोजक सागर परियारले नागरिक समाजलाई जनताको आवाज बोल्ने साझा मञ्चका रूपमा विकास गरिने बताएका छन् । उनले पालिकाको समग्र विकास, सुशासन, पारदर्शिता तथा जनचासोका विषयमा सक्रिय रूपमा वकालत गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्