जुम्लामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको चन्द्रनाथ नगरपालिका वडा नं ३ बुढथाबाडाका ५६ वर्षीय गोपाल खत्रीको मृत्यु भएको हो।
मंगलबार साँझ करिब ५ बजेतिर मुसिना पाखाबाट घर फर्कने क्रममा चेरेको भिरस्थित गोरेटो बाटोबाट करिब २५ देखि ३० मिटर तल खसेर उनी गम्भीर घाइते भएका थिए।
घाइते अवस्थामा उनलाई उनका भाइ दलजित खत्रीले फेला पारी राति करिब ९ः३० बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मा उपचारका लागि पुर्याएका थिए।
उपचारका क्रममा उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी सालिकराम खनालले जानकारी दिए।
प्रहरीका अनुसार उपचारकै क्रममा राति १०ः१० बजे गोपाल खत्रीको मृत्यु भएको हो। घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब ४–५ किलोमिटर उत्तरतर्फ पर्ने बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्