सार्वजनिक बिदामा सरकारी मोटरसाइकल दुरुपयोग : जुम्लामा चार सवारी नियन्त्रणमा



जुम्ला। जुम्लामा सार्वजनिक बिदाको दिन बिना पास सरकारी सवारी साधन सञ्चालन गर्ने क्रम बढ्दै गएको पाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले शनिबार नियमविपरीत सञ्चालन गरिएका चार वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका इन्चार्ज प्रकाश शाहीका अनुसार सार्वजनिक बिदाको दिन अनुमति बिना चलाइएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिएर कार्यालय परिसरमा राखिएको हो।

ट्राफिक प्रहरीले सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन प्रयोग गर्दा अनिवार्य रूपमा पास लिनुपर्ने भन्दै नियमविपरीत सवारी सञ्चालन नगर्न सबै सरकारी कर्मचारी तथा चालकलाई आग्रह गरेको छ।

प्रहरी नियन्त्रणमा परेका मोटरसाइकलहरूमा क १ ब २५४, भे १ ब ५११, क प्र ०१००१ ब ०४२१ र क १ ब ७८ नम्बर रहेका छन्।

तीमध्ये क १ ब ७८ नम्बरको मोटरसाइकल पटक–पटक सार्वजनिक बिदामा दुरुपयोग हुँदै आएको ट्राफिक प्रहरीको भनाइ छ। यसअघि पनि चेकजाँचका क्रममा उक्त मोटरसाइकल नियन्त्रणमा परेको भए पनि पुनः बिना पास सञ्चालन गरिएको भेटिएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालकले आफू प्राविधिक कर्मचारी भएको दाबी गरे पनि सार्वजनिक बिदामा सरकारी सवारी साधनको अत्यधिक प्रयोग भएको पाइएको ट्राफिक प्रहरीको निष्कर्ष छ।

 

प्रकाशित मिति : २०८३ जेठ २ गते शनिबार
अरु पनि पढ्नुहोस्