जुम्ला। विश्व सडक सुरक्षा सप्ताह–२०८३ को अवसर पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटले सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। चालक, सहचालक तथा यात्रुहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा सुरक्षित यात्राका लागि ट्राफिक नियमको पालना गर्न आग्रह गरिएको थियो।
‘नेपाल प्रहरीको हर्ष, सडक दुर्घटना रहितको वर्ष’ भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रममा ट्राफिक प्रहरीले सडक अनुशासन कायम राख्दै जिम्मेवार ढंगले सवारी सञ्चालन गर्न सबैलाई अनुरोध गरेको जनाएको छ।
कार्यक्रमका क्रममा सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न, ट्राफिक संकेत तथा नियमहरूको पालना गर्न र सडक चिन्हहरूको सही प्रयोगबारे जानकारी गराइएको थियो। साथै हेल्मेट, सिटबेल्ट लगायतका सुरक्षा सामग्री अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने सन्देश पनि दिइएको थियो।
सचेतनामूलक कार्यक्रममा स्थानीय युवा, यात्रु तथा विभिन्न क्षेत्रका नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि यस्ता जनचेतनामूलक कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ।
‘सडक अनुशासन अपनाऔँ, सुरक्षित जीवन बचाऔँ’ भन्ने सन्देशसहित सञ्चालन गरिएको कार्यक्रमले सडक सुरक्षाप्रति जनचेतना बढाउन थप टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्