जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद ज्ञानेन्द्र शाही गृह जिल्ला जुम्ला पुगेलगत्तै विकास निर्माणसँग सम्बन्धित सरकारी कार्यालयहरूको आकस्मिक अनुगमनमा सक्रिय भएका छन् ।
मंगलबार जुम्ला पुगेका सांसद शाहीले कुनै पूर्वसूचना बिना नै विभिन्न सरकारी कार्यालयमा पुगेर सञ्चालनमा रहेका योजना, बजेट कार्यान्वयन तथा निर्माण कार्यको वास्तविक अवस्थाबारे जानकारी लिएका हुन् ।
उनले सघन शहरी तथा भवन निर्माण आयोजना, सडक डिभिजन कार्यालय जुम्ला लगायतका विकासे कार्यालयमा पुगेर योजनाको प्रगति विवरण बुझ्नुका साथै कामको गति सुस्त भएको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् ।
लामो समयदेखि अलपत्र परेका तथा कागजमै सीमित रहेका योजनाप्रति असन्तुष्टि जनाउँदै उनले समयमै काम सम्पन्न नगर्ने ठेकेदार र सम्बन्धित निकायलाई कडा चेतावनी दिएका छन् । जनताको करबाट सञ्चालन हुने योजनामा लापरबाही स्वीकार्य नहुने उनको भनाइ थियो ।
सांसद शाहीले पटक–पटक म्याद थपेर काम नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउँदै अधुरा योजनाको ठेक्का प्रक्रिया पुनः मूल्यांकन गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएका छन् ।
अनुगमनका क्रममा उनले निर्माण व्यवसायीलाई लक्षित गर्दै काममा ढिलासुस्ती गर्ने ठेकेदारमाथि कानुनी कारबाही समेत अघि बढाइने चेतावनी दिएका छन् । अब कागजी प्रतिवेदनभन्दा पनि मैदानमा देखिने काम आवश्यक रहेको उल्लेख गर्दै उनले विकास निर्माणमा ढिलाइ गर्ने जोसुकैलाई छुट नदिइने बताएका छन् ।
सांसद शाहीको अचानक गरिएको अनुगमनपछि जुम्लाका सरकारी कार्यालयमा हलचल बढेको छ भने स्थानीयवासीले समेत विकास निर्माणप्रति देखिएको सक्रियतालाई चासोका साथ हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्