जुम्लाको गुठिचौर गाउँपालिकामा जङ्गली भालुको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन्।
गुठिचौर गाउँपालिका–३ गर्याङ्गकोटका २४ वर्षीय सरचिन बुढालाई बुधबार बिहान भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिहान करिब ६ बजे सरचिन छल्लाटिया खोलानजिकको राष्ट्रिय वन क्षेत्रमा भेडा–बाख्रा चराइरहेका बेला जङ्गलबाट निस्किएको भालुले अचानक आक्रमण गरेको हो।
घटनाबारे स्थानीय पूर्ण बुढाले प्रहरी चौकी झारज्वालामा फोनमार्फत जानकारी गराएका थिए। त्यसपछि प्रहरी नायव निरीक्षक तारा केसीको नेतृत्वमा चार सदस्यीय टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो।
दुर्गम जङ्गली क्षेत्रमा भएको उक्त घटनामा प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा सरचिनको उद्धार गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक उपचारपछि उनलाई गुठिचौर गाउँपालिकाको एम्बुलेन्समार्फत थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
भालुको आक्रमणबाट सरचिनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। हाल प्रतिष्ठानमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्