ट्राफिक व्यवस्थापनमा उत्कृष्ट योगदान : सई प्रकाश बहादुर शाही सम्मानित



जुम्ला । जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) प्रकाश बहादुर शाही २०८३ साल वैशाख महिनाका उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सुर्खेतले कार्यसम्पादनको मूल्यांकन गर्दै उनलाई उक्त सम्मान प्रदान गरेको हो ।

कार्यालयका अनुसार सई शाहीले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन, सवारी दुर्घटना न्यूनीकरण गर्न तथा सडक अनुशासन कायम गराउन उल्लेखनीय भूमिका निर्वाह गरेका छन् । उनले चालक, सहचालक तथा यात्रुहरूलाई सुरक्षित यात्राबारे सचेत गराउने कार्यमा निरन्तर सक्रियता देखाएका थिए ।

विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत पुगेर ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै सडक सुरक्षासम्बन्धी जनचेतना फैलाउन उनले महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

ट्राफिक नियमको पालना गराउने, दुर्घटना न्यूनीकरणका लागि सक्रिय रूपमा खटिने तथा समुदायस्तरसम्म सडक सुरक्षा अभियान विस्तार गरेको मूल्यांकनपछि उनलाई ‘सर्वोत्कृष्ट ट्राफिक प्रहरी छनोट मार्गदर्शन–२०८१’ अनुसार वैशाख महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिएको हो ।

पछिल्लो समय बढ्दो सवारी चाप र दुर्घटनाका चुनौतीबीच जिम्मेवारीपूर्वक काम गर्दै ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन उनले खेलेको भूमिकाको कार्यालयले प्रशंसा गरेको छ ।

विद्यालय, स्थानीय तह र विभिन्न समुदायसँग सहकार्य गर्दै उनले सडक सुरक्षा सम्बन्धी सचेतना अभियान सञ्चालन गरेका थिए ।

सम्मान प्राप्त गरेपछि सई शाहीले आफ्नो कामको मूल्यांकन हुनु गौरवको विषय भएको बताए । उनले यस सम्मानले थप जिम्मेवार भएर काम गर्न प्रेरणा मिलेको उल्लेख गर्दै आगामी दिनमा पनि ट्राफिक व्यवस्थापन र सडक सुरक्षाका क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २०८३ जेठ ६ गते बुधबार
अरु पनि पढ्नुहोस्